Prakash Adhikari August 3, 2023

ब्राम्पटन(क्यानडा), १८ श्रावण । नेपाली क्रिकेट टोली पूर्वकप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ ।

सर्रे शीर्षस्थानमा रहँदै क्वालिफायरमा स्थान पक्का गरेको हो ।

जितको लागि ५७ रनको झिनो विजयी लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै ५९ रन हासिल गरेको थियो । सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।

प्यान्थर्सका लागि सेसिल परवेज र उस्मान कादिरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । सर्रेलाई तीव्र गतिका बलर आमर खालिद र म्याथ्यु फर्डले उत्कृष्ट सुरुवात दिलाएका थिए । आमरले ओपनर मिहिर पटेललाई शून्यमा कट एण्ड बोल्ड आउट गरे ।

फोर्डले श्रेयस मोभालाई १७ रनमा बोल्ड आउट गरे । श्रेयस १७ र निखिल दत्तले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । फोर्डले क्यामरन दीलपोर्टलाई ४ रनमा बोल्ड आउट गरे ।

मध्यक्रमका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । आयन खानले कप्तान शोएब खानलाई ५ रनमा विकेटकिपर लिटन दासबाट स्टम्पिङ आउट गरे ।

सन्दीपले आठौं ओभरको पाँचौं बलमा आजम खानलाई २ र टम कुपरलाई शून्यमा आउट गरेपछि प्यान्थर्स ८ ओभरमै ३४.६ को दयनीय अवस्थामा पुगेको थियो । एक समय प्यान्थर्स ५.३ ओभरमा ३० । २ को अवस्थामा थियो ।

सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए । कप्तान इफ्तिखर अहमदले ३।३ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फोर्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । आमर खालिद र आयन खानले एक एक विकेट लिए ।

सर्रे ७ खेलमा ४ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ शीर्षस्थानमा रहेको हो । सर्रेले पहिलो क्वालिफायर शुक्रबार साँझ दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ ।

दोस्रो स्थानमा ४ जित र हार तथा एकमा अंक बाडेको भ्यानकुवर नाइट्स ९ अंकहित रहेको छ ।

दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंकका साथ तेस्रो स्थानमा छ ।

अब सन्दीपको सर्रे ज्यागुअर्सले भ्यानकुवर नाइट्ससंग पहिलो क्वालिफायर खेल्नेछ ।

सन्दीपको प्रदर्शन

सन्दीपलाई सर्रेले आठौं ओभरमा ल्याएको थियो । सन्दीपले पहिलो बल जेम्श निसमलाई डट राखेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो र चौथौ बलमा पाकिस्तानी युवा ब्याटर आजम खानलाई उनले डट राखेका थिए ।

पाँचौं बलमा सन्दीपले आजम खानलाई २ रनमा कप्तान इफ्तिखर अहमदबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा नेदरल्यान्ड्सका स्टार ब्याटर टम कुपर शून्यमा एलबीडब्लू आउट भए । पहिलो ओभरमै सन्दीपले मात्रै एक रन दिएर दुई महत्वपूर्ण विकेट लिएका थिए ।

सन्दीपले १० औं ओभरमा मात्रै तीन रन दिए । पहिलो बल जेम्श निसमलाई एक रन दिएका थिए । त्यसपछि निखिल दत्तलाई लगातार चार बल डट राखेका थिए । अन्तिम बलमा दुई रन दिएका थिए ।

१२ औं ओभरमा सन्दीपले मात्रै एक रन दिए । सन्दीपले निखिल दत्तलाई सुरुवाती लगातार पाँच बल डट गरेका थिए । अन्तिम बलमा एक रन दिएका थिए । १४ औं ओभरको पहिलो बल निसमलाई डट र दोस्रो बलमा एक रन दिए ।

जहुर खानलाई तेस्रो बल डट राखे । चौथो बलमा जहुर खानलाई एलबीडब्लू आउट गरे । पाँचौं बल डट राख्दा अन्तिम बल लेग वाईको रुपमा चौका भएको थियो । सन्दीपले गरेका कुल २४ मध्य १९ बल डट राखेका थिए ।

Share Now

Leave a comment.