Prakash Adhikari August 3, 2023

काठमाडौँ, १८ साउन (रासस) । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ ।

बुधबारदेखि सुरु भएको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् भने आज बिहीबार दोस्रो दिन पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।

माओवादीको केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन्। उनीहरुले पार्टी कमजोर हुनुको मुल कारक नेतृत्व नै रहेको धारणा व्यक्त गरेका छन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेपनि पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने अध्यक्ष दाहाल र वर्तमान सरकारको बचाउमा उत्रिनुभएको छ । आजको बैठकमा पार्टीका उपाध्यक्ष श्रेष्ठले आफ्नो धारणा राख्ने क्रममा वर्तमान सरकारको बचाउमा समय खर्चिनुभएको थियो ।

अहिलेको सरकारका कामले जनतामा आशाको सञ्चार भएको बताउँदै नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको प्रशंसा गर्दैउहाँकै अगुवाइमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको बताउनुभयो ।

ती केन्द्रीय सदस्यका अनुसार नेता श्रेष्ठले पार्टी भित्रकै नेताहरु भ्रष्टाचारमा संलग्न भएको देखिएमा नछाड्ने चेतावनी दिएका हुन्।

बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व र सचिवालयको खोइरो खनेका थिए । नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री दाहालको सचिवालयले कार्यकर्ताहरुलाई बेवास्ता गर्दै नेतृत्वसँगको भेटवार्ताको समय मिलाउन सदैब आनाकानी गर्ने गरेको आरोप लगाएका थिए ।

पाँच दिनसम्म चल्ने बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेको बताइएपनि अध्ययनका लागि अझैसम्म प्राप्त नगरेको केन्द्रीय सदस्यहरुले बताएका छन् ।

Share Now

Leave a comment.