Prakash Adhikari August 3, 2023

काठमाडौं, १८ श्रावण । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिनुभयो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उहाँको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै हुनुहुन्छ ।

अस्थायी शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ ४१ वर्षअघि अस्थायी नियुक्तिमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो। कैलालीको धनगढीका श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त हुनुभएको थियो।

त्यसको दुई वर्षपछि सुदूरपश्चिम क्षेत्रीय अदालतमा तृतीय श्रेणीको शाखा अधिकृत भएर जानुभयो। त्यसपछि तत्कालीन केन्द्रीय क्षेत्रीय अदालतमा काम गर्नुभयो।

२०४४ फागुन १४ गते द्वितीय श्रेणीमा बढुवा भएसँगै सूदुरपश्चिम क्षेत्रीय अदालतमा सहायक सचिवका रुपमा कार्यरत श्रेष्ठलाई तीन महिनापछि न्यायाधीश नियुक्त गरिएको थियो।

२०४५ जेठ ३ गते श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त श्रेष्ठले द्वितीय श्रेणीको न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलाबाट सेवा सुरु गर्नुभएको थियो। त्यसको दुई वर्षपछि उहाँ डडेलधुराको न्यायाधीश हुनुभयो।

डडेलधुरापछि २०४८ कात्तिक २३ गते न्यायिक सेवा तालिम केन्द्रमा सरुवा हुनुभएका श्रेष्ठ सहायक प्रशिक्षण प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो।

२०४९ चैत १ गते पहिलो पटक सर्वोच्च अदालतका उपरजिस्ट्रार हुनुभएका श्रेष्ठ एक वर्षपछि पुनः न्यायाधीशमा फर्किनुभयो। सर्वोच्चमा ठीक एक वर्ष काम गरेपछि उहाँलाई २०५० सालमा न्यायाधीश नियुक्त गरेर जिल्ला अदालत उदयपुरको जिम्मेवारी दिइएको थियो।

दुई वर्ष उदयपुरमा कार्यरत रहेपछि मकवानपुर सरुवा हुनुभएका श्रेष्ठ मकवानपुर जिल्ला अदालतमा पनि दुई वर्ष काम गरेपछि जिल्ला अदालत झापामा सरुवा हुनुभएको थियो ।

झापामा भने करिब तीन वर्ष कार्यरत श्रेष्ठ त्यसपछि जिल्ला अदालत बाँके पुग्नुभयो । त्यहाँ पनि दुई वर्ष काम गरेपछि २०६० साल वैशाख ११ गते जिल्ला अदालत काठमाडौंको न्यायाधीश हुनुभयो र तीन वर्ष काम गर्नुभयो। विभिन्न अदालतका प्रशासन र ७ वटा जिल्लाको न्यायायधीश भइसकेपछि श्रेष्ठ तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो।

२०६३ सालमा तत्कालीन पुनरावेदन अदालत बागलुङको न्यायाधीश हुनुभएका श्रेष्ठले बागलुङमा तीन वर्ष र पाटन पुनरावेदन अदालतमा २ वर्ष सेवा गर्नुभयो । पुनरावेदन अदालत पोखरामा पनि ३ वर्ष नै काम गर्नुभएका श्रेष्ठले एक वर्ष कामु मुख्य न्यायाधीशको जिम्मेवारी पनि सम्हाल्नुभयो।

पोखरामा कामु मुख्य न्यायाधीशका रुपमा काम गरेपछि उहाालाई मुख्य न्यायाधीशका रुपमा पुनरावेदन अदालत हेटौंडा सरुवा गरिएको थियो। २०७१ साल भदौ १० गतेदेखि विश्वम्भरप्रसाद श्रेष्ठ हेटौंडाको मुख्य न्यायाधीशमा कार्यरत श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।

२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका श्रेष्ठले त्यसको ठिक ७ वर्षपछि सर्वोच्च अदालतकै नेतृत्व गर्ने अवसर पाउनुभएको छ। प्रधानन्यायाधीशका रुपमा विश्वम्भरले १४ महिना नेतृत्व गर्नुहुने छ।

उहाँ २०८१ साउन २० गते श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण अवकाशमा जानुहुने छ ।
आज प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको बारेमा अब संसदीय विशेष समितिमा सुनुवाई हुनेछ। उनीविरुद्ध उजुरी गर्नका लागि समितिले समय तोक्नेछ। उजुरी परे वा नपरे पनि समितिमा सुनुवाई हुनेछ।

छानबिनपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न समितिले सिफारिस गर्न सक्नेछ। संसदीय सुनुवाई लगतै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुहुने छ।

Share Now

Leave a comment.