Prakash Adhikari August 8, 2023

 

काठमाडौं, २३ श्रावण । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता भएको छ ।

भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराउनुभएको थियो ।

पर्यटन प्रवर्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेको समेत ढकालले बताउनुभयो। अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गर्नुभएको थियो।

महासंघले साना उद्यमशीलता प्रवर्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि दूतावासले सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यसैगरी नेपालमा चिनियाँ बैंक आउनसक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।

अध्यक्ष ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पहल गर्न पनि चीनका राजदूतसंग आग्रह गर्नुभयो । भेटका क्रममा राजदूत सोङ्ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको उहाँले जानकारी गराउनुभयो ।

नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङ्को भनाइ छ । लगानीकर्तालाई नीतिगत स्थायित्व एवं सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा राजदूत सोङ्ले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि गराउनुभएको थियो ।

Share Now

Leave a comment.