Prakash Adhikari August 8, 2023

काठमाडौं, २३ श्रावण । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो फुटबल क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब प्रारम्भिक छनोटको दोश्रो चरणमा पुगेको छ ।

खेलको सातौं मिनेटमा नै पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भयो ।

खेलको ७ औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर त्यसको ५ मिनेटपछि नै विमल घर्ती मगरले बराबरी गोल फर्काए ।

एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि १५ ‍औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् । विमलले पेनाल्टी क्षेत्रभित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

३९ मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मछिन्द्रले १ का विरुद्ध ३ को अग्रता बनायो । ओमालाजा करिमको पासमा ओलावालेले गोल गरे र टिमलाई ३-१ को अग्रता दिलाए ।

७१औं मिनेटमा पारोका लागि इभान अशान्तेले १ गोल थपे पनि त्यो जितका लागि पर्याप्त भएन ।

खेलको ८९ औं मिनेट काजोउले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । इन्जुरी समयमा मछिन्द्रका लागि आशिष चौधरीले बायाँतर्फबाट दिएको उत्कृष्ट बल विमलले गोलमा परिणत गर्न भने सकेनन् ।

विजेता मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकातामा खेल्ने छ ।

यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।

 

Share Now

Leave a comment.