
काठमाडौं, २५ श्रावण । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअरपोर्टबाट एक क्वीन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्ने नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको छ ।
सांसद शर्माले सुन तस्करीको विषयमा विभागीय मन्त्रीहरु कर्तव्यच्यूत भएको भन्दै उपप्र्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा.प्रकाश शरण महतको राजिनामा माग गर्नुभएको थियो ।
उहाँले त राजिनामा नदिए संसद भवनमा अनशन बस्ने समेत चेतावनी दिनुभएको थियो ।
साउन २ गते त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट चेकपास भएर एक क्वीन्टल सुन राखिएको सवारी साधन मूल सडकतिर निस्कन लाग्दा राजश्व अनुसन्धान विभागको टोलीले समातेको थियो ।
सुन प्रकरणमा सरकारले डेढ दर्जन व्यक्तिलाई पक्राउ गरी बयान लिइरहेको छ । अहिले यो प्रकरण संगठित अपराध पनि भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले हेरिरहेको छ ।
भन्सार विभाग हेर्ने विभागीय अर्थमन्त्री र विमानस्थलको सुरक्षा जाँच हेर्ने प्रहरीको विभागीय मन्त्रीहरु आफ्नो पदीय दायित्व निर्वाह गर्न सक्षम नरहेको भन्दै राजिनामा माग्ने सांसद सुनिल शर्मालाई संसद अधिवेशन चलिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज उहाँकै निवासबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ ।