काठमाडौं,९ भाद्र । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुड.ले आफ्नो पूरा जीवन देशमा उद्यमशीलताको विकासमा लगाएर ब्यापारबाट देशलाई एकताको सूत्रमा उन्ने काम गर्दा राज्यले दिएको सास्तीप्रति बडो भावुक हुँदै भन्नुभएको छ,“यो देश मेरोलागि होइन रहेछ ।”
राजा महेन्द्रको सरकारले हरण गरेको नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका पहिलो अर्थ तथा उपप्रधानमन्त्री सुवर्णसमशेर जबरा र उहाँका अंशियारको स्वामित्वमा रहेकोे ललिता निवासको २९९ रोपनी ९ आना २ पैसा जग्गामध्ये राजा बीरेन्द्रको हुकुम प्रमांगीले प्रक्रिया पुर्याएर कृष्ण प्रसाद भट्टराईको अन्तरिम सरकारले फिर्ता दिएपछि व्यक्तिको नाममा आएको जग्गा किन्नुभएका व्यवसायी गुरुड. झण्डै २ महिना दिनदेखि हिरासतमा हुनुहुन्छ ।
राजा महेन्द्रको सरकारले जफत गरेको सम्पत्ति राजा बीरेन्द्रको हुकुम प्रमांगी र अन्तरिम सरकारको निर्णयले फिर्ता गर्दा अनियमितता भयो भन्दै सुवर्णका सन्ततिबाट जग्गा किन्नुभएका गुरुड.लाई सीबीआईले अनुसन्धानका लागि भनेर हिराशतमा राखेको छ । भाद्र ४ गते सहयोगी आर्थिक प्रकाशन बिजमाण्डुसंगको भेटमा व्यवसायी गुरुड.ले भन्नुभएको छ, “म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छु। मेरो श्रीमती सावित्री, छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भतिजी सरलामाथि पक्राउ आदेश छ ।मलाई कुन कसुरमा यसरी हिरासतमा राखिएको हो, अहिलेसम्म पनि बुझ्न सकेको छैन । मेराविरुद्ध राज्य किन लाग्यो ? मैले राज्य विप्लवको काम के गरेँ ? हिराशतमा ल्याएदेखि मेरो मथिंगलमा घुमिरहेको छ। अरु लागे सकिने रहेछ, तर राज्य लाग्यो भने केही पनि गर्न नसकिने रहेछ।”
उहाँले भन्नुभएको छ,”मैले राज्यलाई सबै तिरो तिरेर जग्गा किनेको हुँ। राज्यलाई राजस्व तिरेर जग्गा किन्दा म कसरी कसुरदार भएँ ? मैले जग्गा किन्दा जग्गाधनी प्रमाण पुर्जा रहेको र जग्गाधनीकै नाममा श्रेस्ता कायम रहेको थियो। त्यही आधारमा जग्गा किन्दा म कसरी कसुरदार ठहरिएँ ?”
देशभित्र उद्यमशीलता विकास गरेर नेपालमा प्रशस्त संभावना छ भन्ने प्रमाणित गर्नुभएका गुरुड.ले भन्नुभएको छ, “मैले उद्यमशीलता गर्दा राज्यबाट जीवनको उत्तरार्धमा पाएको पुरस्कारले मेरो मनमा मात्रै होइन हरेक उद्यमशीलता विकास गर्नेमाथि चोट पुगेको महसुस गरेको छु। मैले यो देशमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास राखे। त्यही आत्मविश्वासका बलमा भाटभटेनीलाई देशका विभिन्न स्थानमा पुर्यातउन सफल भइरहेको थिए।”
ब्यापारबाट राष्ट्रलाई एकताको सूत्रमा गाँसेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “मैले पहाडदेखि मधेससम्म आफ्नो शाखा विस्तार गरेँ। देशलाई जोड्ने भनेको व्यापारले नै हो। व्यापारले रोजगारी सिर्जना गर्छ, उत्पादनलाई जोड्छ। र, एउटै भावनामा उन्ने काम गर्छ। त्यही मूल मर्म लिएर मैले भाटभटेनीको शाखा विस्तार गरेको थिएँ। मैले लिएको आँटलाई जनताले पनि साथ दिनुभयो। त्यही भरोसाका कारण मैले आफ्नो सबै ऊर्जा देशभित्रै खर्चिएँ।यही सफलताका कारण मैले विदेशमा स्थापित भएका आफन्तहरुलाई पनि स्वदेश फिर्ता बोलाए। विदेशमा बसेर राम्रो व्यापार गर्नेदेखि राम्रो पेसा गर्नेलाई स्वदेश ल्याएँ। उनीहरु मसँग जोडिएर व्यापार व्यवसाय गरिरहेका थिए। म पक्राउपछि उनीहरु सबैभन्दा बढी चिन्तामा छन्।”
व्यवसायी गुरुड.ले अत्यन्त भावुक हुँदै भन्नुभएको छ, “उनीहरुले सिधै मलाई कुनै प्रश्न गरेका छैनन्। तर, मलाई ठूलो आत्मग्लानी भएको छ। राम्रो व्यापार गरिरहेका, राम्रो पेसामा आबद्ध भएकालाई मैले नेपाल फर्काएर ठुलै गल्ती गरेँ। व्यापारलाई पारदर्शी बनाएर राज्यको ढुकुटी बलियो बनाउनु गलत थियो। भाटभटेनी खडा गरेर मध्यम, उच्च मध्यम र ठूला व्यवसायीलाई जोड्नु गलत थियो। हजारौंलाई रोजगारी दिनु पनि गलत थियो। त्यही गल्तीको दण्ड मैले भोगिरहेको छु। त्यही भएर मलाई अहिले लाग्न थालेको छ, यो देश मेरो लागि होइन।”
व्यक्तिको जग्गा खरिद,सरकारी होइन
व्यवसायी गुरुड.ले सीआईबीसमक्ष दिनुभएको बयान पनि सार्वजनिक भएको छ । जहाँ उहाँले आफूले ब्यक्तिको जग्गा खरिद गरेको सरकारी होइन भन्ने स्पष्ट बोल्नुभएको छ । उहाँले भन्नुभएको छ। ललिता निवास क्याम्पभित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गा खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याइएको थियो।
उहाँले २०६० माघतिर नाताका दाई रामकाजी कोने, विश्वप्रकाश पण्डित र दीपक भन्ने व्यक्तिसमेतले भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको प्राङ्गणमा आफूलाई भेटी बालुवाटारको जग्गा विक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौँ भनेको २र३ रोपनी जग्गा राखिदिनु भनेको उल्लेख गर्नुभएको छ ।
गुरुड.ले त्यसको करिब २र३ दिनपछि शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोनेसमेत अन्य ३र४ जना मानिसहरु भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको कार्यालयमा आई आफूलाई भेटेर बालुवाटारस्थित शैलजा राणा, सुनीति राणा, रुक्मशमशेर जबरा, हेमाद्री शमसेर जबरा, हाटक शमशेर जबरा र हेमन शमशेर जबरासमेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्यो भनी प्रस्ताव गरेको पनि बताउनुभएको छ ।
हाँले बयानका क्रममा आफूले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेको र नियमानुसारको राजस्व तिरी सम्बन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाएको पनि उल्लेख गर्नुभएको छ ।
जग्गा खरिदका विषयमा सबै कुार खुलस्त राख्नुभएका व्यवसायी गुरुड.ले आफू, परिवार तथा आफन्तको नाममा खरिद गरेको जग्गामा अन्दाजी २र३ करोड लगानी भएको बताउनुभएको छ ।
बयानको पूर्णपाठ
मेरो राम कुमार सुवेदी र शोभाकान्त ढकालसँग २०६०र६१ सालतिर ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गर्ने समयमा भेटघाट भएर चिनजान भएको हो।
त्यसपश्चात ललिता निवास क्याम्पभित्रको जग्गा हामी तीनजनाको संयुक्त नाममा खरिद गरेका हौँ। त्यसपश्चात हामी तीनजना मिलेर भाटभटेनी डेभलपर्स प्रा।लि। खोली जग्गा विकासको काम गरेका हौँ।
भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही सञ्चालनमा छ। उक्त कम्पनीको सञ्चालकमा म, मेरी श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल छौँ। म र मेरी श्रीमती सावित्रीको नाममा ५१ प्रतिशत सेयर रहेको छ। रामकुमार सुवेदी र शोभाकान्त ढकालको ४९ प्रतिशत सेयर लगानी छ।
हामीले ललिता निवास क्याम्पभित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ती आदिको ब्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरेका हौँ। ललिता निवास क्याम्पभित्रको अन्दाजी ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको नाममा खरिद गरेका हौँ।
कम्पनीको सञ्चालक समितिको अध्यक्ष भनेर कसैलाई तोकिएको छैन। ललिता निवास क्याम्पभित्रको जग्गा हालसाबिक भएपश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा खरिद गरेका हौँ। नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा मोही लाग्छ, लाग्दैन मलाई थाहा छैन, म अनभिज्ञ छु। कम्पनीको बहुमत सेयर मेरो नाममा रहे पनि म अन्य व्यवसायको सिलसिलामा ब्यस्त हुने भएकाले उक्त कम्पनीको काम कारबाही रामकुमार सुवेदीले गर्ने गरेका छन्।
बहुमत सेयर मेरो नाममा भए पनि मलाई जानकारी नभएको हो। २०६७ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूको निवास विस्तारका क्रममा काठमाडौं महानगरपालिका–४ को सिट नम्बर १०२५र१५ को साविक कि।नं।७५ को ५९५।८० वर्ग मिटर जग्गामध्ये हालको कि।नं। २११ को ९९ दशमलव ३५ बर्गमिटर र ५९१ को ३३ दशमलव ७९ बर्गमिटर जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको हो।
ती जग्गाहरु ब्यक्तिको नाममा कायम भएपश्चात खरिद गरिएको हो। जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो, हाल मैले बिर्सिएँ। मैले ब्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन। ललिता निवास क्याम्पभित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गा खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याइएको थियो।
उक्त जग्गाको साँध सिमाना हाल एकिन गर्न सक्दिनँ। मोहीबारेमा मलाई कुनै जानकारी छैन। त्यस सम्बन्धमा निज रामकुमार सुवेदीलाई थाहा होला। ती जग्गाहरु मेरो परिवार तथा आफन्तहरुको लागि आवास बनाउन साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउन खरिद गरिएको हो। उक्त समयमा जग्गाहरुमा जाने बाटो थिएन।
जग्गासँग जोडिएको अरु जग्गा खरिद गरी बाटो जोड्ने योजनाका कारण पहिले बाटो नभएका जग्गा खरिद गरिएको हो । जग्गा पास गर्न घरबाटो सिफारिस लिएका थियौँ। ललिता निवासको जग्गा म र मेरो परिवारले २०६१को सेरोफेरोमा तत्कालीन जग्गाधनीसँग रहेको जग्गाधनी पुर्जाको आधारमा खरिद गरेका हौँ।
उक्त सरकारी जग्गा हिनामिना सम्बन्धमा मेरो तथा मेरो परिवारका सदस्यहरुको कुनै संलग्नता छैन। ललिता निवास क्याम्पभित्रको मेरो तथा मेरो परिवारको नाममा खरिद गरेका जग्गामा मात्र मैले लगानी गरेको हो।
निजले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए, मलाई थाहा भएन। २०६७ सालमा विशिष्ट व्यक्तिहरुको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम विस्तारित क्षेत्रमा मसमेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो। त्यसबापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन।
म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौँ। मैले तथा मेरो परिबारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्बन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौँ। हाल अन्दाजी २९ रोपनी जति जग्गा म, मेरो परिवार तथा नातेदारहरुको नाममा दर्ता कायम छ।
म, मेरो परिवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अन्दाजी २र३ करोड लगानी भएको छ। त्यस सम्बन्धमा मलाई थाहा छैन। नेपाल सरकारको नामबाट विभिन्न व्यक्तिहरुको नाममा जग्गा नामसारी, दाखिल खारेज भइसकेपश्चात मसमेतले साविक जग्गाधनीसँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हो।
मैले भाटभटेनी सुपर मार्केट परिसरबाहिर पारिवारिक आवास बनाउने सोच राखिरहेको थिएँ। एकिन मिति याद भएन, २०६० माघको दिन बिहानपख श्रीमती सावित्री गुरुङसमेतलाई साथमा लिई मर्निङवाकका क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिका भलिबल खेल्दै गरेको देखेको थिएँ।
उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ। त्यसको करिब १०र१५ दिनपछि मेरो दाइ नाताका रामकाजी कोने, विश्वप्रकाश पण्डित र दीपक भन्ने व्यक्तिसमेतले भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा विक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौँभन्दा मैले मेरो लागि २र३ रोपनी जग्गा राखिदिनु भनेको थिएँ।
त्यसको करिब २र३ दिनपछि शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोनेसमेत अन्य ३र४ जना मानिसहरु भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको कार्यालयमा आई मलाई भेटी बालुवाटारस्थित शैलजा राणा, सुनीति राणा, रुक्मशमशेर जबरा, हेमाद्री शमसेर जबरा, हाटक शमशेर जबरा र हेमन शमशेर जबरासमेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्योे भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सासमेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोहीसमेत देखिएको, एकजनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेकेको, जग्गामा जाने बाटोसमेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भने।
तर, शोभाकान्त ढकाल र रामकुमार सुवेदीले १५ दिनभित्र मोही मिलाउँछौं, राणा परिवारको जग्गासमेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले किन्दा फरक पर्दैन भनी विश्वाश दिलाए। त्यसभन्दा अघि नै उक्त क्याम्पभित्रको केही जग्गा निज शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित समेतले खरिद गरिसकेको जानकारी गराएकोले निजहरुले भनेको कुरामा विश्वासमा परी ललिता निवास क्याम्पभित्रको जग्गाहरु नियमानुसार राजस्व तिरी सम्बन्धित जग्गा धनीलाई नगदै दिई खरिद गरेको हुँ।
उक्त जग्गामा जान आवश्यक पहुँच मार्गका लागि समेत शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पहलमा हेमाद्री शमसेर जबरासँग ०।१२।०।० रोपनी जग्गा रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मसमेतको संयुक्त नाममा खरिद गरेका हौं।
हाल उक्त ०।१२।०।० रोपनी जग्गा ललिता निवास क्याम्पभित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र त्यसभित्रका अन्य कित्ता जग्गामा जाने बाटोका रुपमा प्रयोग भइरहेको छ । तत्कालीन समयमा निज कुमार रेग्मी मसमेतको स्वामित्वमा रहेको व्यवसायको कानुनी सल्लाहकार रहेको र निजले मसँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने इच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मूल्य लिई निजलाई बिक्री गरेको हुँ।
के कति रकममा बिक्री गरेँ, लिखत हेर्दा थाहा हुन्छ। म तथा मेरो परिवारका सदस्यहरु र मेरो स्वामित्वको कम्पनीसमेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गामध्ये कित्ता नम्ब ७९ को २१७ वर्गमिटर जग्गा वैशाली ट्रेड लिंकलाई, कित्ता नम्बर ८० को ५।९४ बर्गमिटर जग्गा माया गौचनलाई, कित्ता नम्बर ४६६ को २५।८ र कित्ता नम्बर ९४ को ४२।७ वर्गमिटर जग्गा नुतन श्रेष्ठलाई, कित्ता नम्बर ६३ को ४७।७ वर्गमिटर जग्गा विजेन्द्र जोशीलाई, कित्ता नम्बर १२८ को २७४ वर्गमिटर कि।नं। ७० को ९५।४ वर्गमिटर जग्गा संगीता राखेचालाई विक्री गरेको छु, त्यसबाहेक अन्य को–कसलाई के कति जग्गा बिक्री गरियो, एकिन भन्न सक्दिनँ।
मैले ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गर्ने क्रममा २०६० सालको फागुन, चैत महिनातिर मात्रै रामकुमार सुवेदी र शोभाकान्त ढकालसमेतलाई चिनेको हुँ, तत्कालीन अवस्थामा मसमेतले खरिद गरेको ललिता निवास क्याम्पभित्रको जग्गामा पहुँच मार्गका लागि समेत २०६०÷६१ सालतिरै शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पहलमा हेमाद्री शमशेर जबरासँग ०–१२–०–० रोपनी जग्गा रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मसमेतको संयुक्त नाममा खरिद गरेका थियौँ।
प्रधानमन्त्री निवास परिसर विस्तारको क्रममा निवास परिसरबाहिरको बाटो २०६७ सालमा मात्रै बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामीसमेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्पभित्रको जग्गा हुँदै निर्माण भएको हो।



















