काठमाडौं, १५ असोज। अमेरिकी सरकारको सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस अलब्राइट ५ दिने भ्रमणमा आइतबार काठमाडौं आइपुग्नुभएको छ ।
एमसीसी कार्यान्वयनमा गएको उपलक्ष्यमा आयोजित हर्षबढाई कार्यक्रममा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो । गत भदौ १३ गते एमसीसी ‘इन्ट्री टु फोर्स (ईआएफ)मा आएको घोषणासँगै एमसीसी परियोजना कार्यान्वयनमा गएको हो।
यसै उपलक्ष्यमा एमसीए नेपालले बुधबार हर्षबढाई पार्टी आयोजना गरेको छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सरकारका मन्त्रीहरु, सचिवहरु र शीर्ष राजनीतिक नेताहरुलाई आमन्त्रण गरिएको छ । यो सेलिब्रेसन कार्यक्रमले समेत एमसीसी परियोजनालाई अमेरिकाले दिएको महत्त्वलाई दर्शाउँछ।
एमसीए नेपालका उच्च अधिकारीहरुले नीति निर्मातालाई भोज भतेर र नाचगानमा भुलाएर आफ्ना अनियमित,निहित स्वार्थजन्य, भ्रष्टाचार र जालसाजीयुक्त क्रियाकलापलाई अनुमोदन गराउन खोजेका छन् ।
अमेरिकी सरकारको ५०० मिलियन डलर अनुदान सहयोग र नेपाल सरकारको १९७ मिलियन डलर योगदानमा सञ्चालन हुने एमसीए नेपाल अन्तरगतका दुई आयोजना मध्ये प्रशारण लाईन आयोजनाका दुई ठूला ठेक्कामा एमसीसीको कार्यक्रम खरिद मार्गनिर्देशिकाको उल्लंघन गर्दै एमसीएका कर्मचारीहरुले आफू निकटका व्यवसायीलाई ठेक्का दिलाउन हदसम्मको प्रपञ्च रचेका छन् ।
काठमाडौंको लप्सीफेदी, नुवाकोटको रातमाटे , तनहुँको दमौली हुँदैै नवलपरासीको भूमहीसम्म बन्ने ३ सय १५ कि.मी. लामो ४०० के.भी. क्षमताको डब्बल सर्किट प्रशारण लाईन निर्माण र सो कार्यसहित सबस्टेशन निर्माणको निरीक्षण,अनुगमन,मूल्यांकन गर्ने परामर्शदाता चयनको टेण्डरमा एमसीएका कर्मचारीले खरिद निर्देशिका र नेपालको सार्वजनिक खरिद ऐन तथा नियमावलीको धज्जी उडाउदै आफूखुसी काम गरेका हुन् ।
एमसीएको खरिद निर्देशिकाले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनमा सहभागी भएको कुनै पनि कम्पनीलाई त्यसको कार्यान्वयनसंग सम्बन्धित काममा संलग्न गराउनु हुँदैन भनेको छ । तर एमसीएका कर्मचारीहरुले वातावरण प्रभाव मूल्यांकनमा प्रत्यक्ष सहभागी भएको नेपालको टीएमएस कम्पनीको संलग्नतामा पेश भएका दुईवटा प्रस्तावलाई मूल्यांकनमा पारेर त्यसमध्ये भारतको वापकोससंग पेश गरेको प्रस्तावलाई पुरस्कृत गर्ने कारबाही अगाडि बढाइरहेका छन् ।
त्यस्तै प्रशारण लाईन निर्माणको लागि माग गरिएको प्रस्तावमा अनुमानित लागतको ५ गुना महंगा प्रस्तावहरु परेका छन् ।
परामर्शदातामा अनुमानित लागतको दुईतिहाई कम झण्डै ६६ प्रतिशत कममा प्रस्ताव पर्नु र निर्माणको काममा पाँच गुनासम्म महंगो प्रस्ताव पर्नुलाई निर्माण व्यवसायीहरुले मिलेमतोको संज्ञा दिएका छन् ।
परामर्शदाताको प्रस्तावमा भारतको वापकोशले ८ मिलियन डलर प्रस्ताव गरेको छ जसको अनुमानित लागत २४ मिलियन डलरभन्दा बढी छ । एमसीए नेपालका विश्वस्त सूत्रले दिएको जानकारी अनुसार वापकोशले प्राविधिक प्रस्तावमा उल्लेख गरेको जनशक्ति र तिनलाई काममा लगाउने समय म्यान मन्थ वित्तीय प्रस्तावमा घटाएकोले उसको प्रस्ताव सस्तो देखिएको हो । प्राविधिक प्रस्तावमा उल्लेख गरेकै जनशक्ति र काममा लगाउने समय राख्ने हो भने उसको वित्तीय प्रस्ताव महंगो पर्न आउछ । अंकमा सस्तो देखाएर भित्र छिर्ने र आपसी समझदारीमा ठेक्का हात पार्ने नियतले यस्तो काम गरिएको बताइन्छ ।
वापकोषले नेपालका गरेका कुनै पनि कामविवाद रहित छैनन र कुनै पनि काम समयमा सकिएको पनि छैन । भुटानको जलविद्युत आयोजनामा यसले गरेको लापरवाहीले कम्पनीलाई अबौंको नोक्सानी भएको भुटान सरकारका अधिकारीहरुले बताएका छन् । नेपालको कुलेखानी तेस्रो आयोजनाको परामर्शदाता रहेको वापकोशले १४ मेगावाटको क्यासकेड आयोजना निर्माणमा १२ बर्ष लगाएको थियो । नेपाल विद्युत प्राधिकरणमा यसले पाएका कुनै पनि काम समयमा सम्पन्न गर्न सकेको छैन ।
एमसीसीको ५०० मिलियन डलर अनुदान सहयोग रहने यी आयोजना मध्ये प्रशारण लाइनको मात्र लागत अनुमान ५८२.४ मिलियन रहेको छ । यसको अर्थ अमेरिकाले दिने पूरै रकमभन्दा बढी लागत भएको पहिलो आयोजनामा नै मिलेमतो, जालसाजी र भ्रष्टाचार गरेर एमसीए नेपालका कर्मचारीहरुले एमसीसीका आयोजनाहरुलाई असफल बनाउने दुस्साहस गर्दै छन् ।


















