कुश्मा(पर्वत), २१ असोज । करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ ।
लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको छ।
खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको थियो । अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगिएको जानकारी दिनुभएको छ।
‘म आफैं किम्रोङको थुनिएको ठाउँ पुगेर आएँ । ठूलै ताल बनेको छ । त्यो एकैचोटि खुलेको भए तलका बस्तीलाई ठूलै क्षति पुर्याउँथ्यो,’ अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो, ‘तर अहिले विस्तारैविस्तारै आफैं खुल्दै गएको छ ।’
गए राति खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो ।
आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सतर्ककता अपनाउन आग्रह गरिएको छ ।
खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो ।
प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताउनुभयो ।
“केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ । तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ” अन्नपूर्ण–११ का वडाध्यक्ष गुरुङले बताउनुभयो । किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो ।