Prakash Adhikari October 12, 2023

काठमाडौं, २५ असोज। इजरायलमा अलपत्र परेका नेपाली लिन गएको नेपाल वायुसेवा निगमको ९ एन एएलजेड कलसाइनको मकालु नामक बाइडबडी जहाज २ सय ५३ यात्रु लिएर इजरायलको राजधानी तेलअभिभबाट उडेको छ ।

परराष्ट्र मन्त्रालयले ५ बजे सोसल मिडिया एक्स(पहिलेको ट्वीटर)मा एक स्टाटस राख्दै तेलअभिभको बेन गुरियन एअरपोर्टमा नेपालको उद्धार उडानमा त्यहाँ रहेको २ सय ५३ जना नेपालीहरु चडेको र परराष्ट्र मन्त्री एनपी साउदले सबैलाई स्वागत गर्नुभएको उल्लेख गर्नुभएको छ । सो प्लेन छ्ट्टिै उडने तयारीमा रहेको पनि बताइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले ५ बजेर ५४ मिनेट जाँदाको स्टाटसमा परराष्ट्रले जहाज भर्खर उडेको र मन्त्रालयले इजरायलका विभिन्न भागमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, एअरपोर्टसम्म ल्याउने र नेपाल वायुसेवा निगमको उद्धार उडानलाई सहज रुपमा अवतरण र उडानको प्रक्रियामा तत्काल मिलाएकोमा पनि इजरायल सरकार र संबन्धित निकायका पदाधिकारीहरुलाई धन्यवाद दिएको छ ।

उद्धार उडान सञ्चालन गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाज १० घण्टाभित्र काठमाडौंमा अवतरण गर्ने जानकारी दिनुभएको छ । उहाँले जहाज दुवई हुँदै आउने छ । दुबईमा रिफ्युलिङ लगायत कामका लागि डेढ घण्टा लाग्ने बताइएको छ । दुवई काठमाडौं उडान दुरी करिब पाँच घण्टाको रहेको छ,’ प्रवक्ता पौडेलले भन्नुभएको छ,’अबको करिब १० घण्टामा जहाज काठमाडौं अवतरण हुनेछ।’

उहाँका अनुसार यो उडान वरिष्ठ क्याप्टेनद्धय श्रवण रिजाल र योगेश हिराचनको कमाण्डमा रहेको छ। उडानमा फर्स्ट अफिसर जिवेश लामा हुनुहुन्छ।
निगमको जहाज इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन बिहीबार बिहान सबेरै काठमाडौंबाट उडेको थियो । युद्धग्रस्त देशको हवाई आकाशमा रात्रिमा विमान उडान गर्नु जोखिपूर्ण हुने भएकोले निगमको जहाज दिनको समयमा पुगेर फर्कने समय मिलाएर दुवई हुँदै इजरायल पुगेको थियो। जहाजमा परराष्ट्र मन्त्री एनपी साउद सहितको टोली गएको थियो।

प्यालेस्टाइनको लडाकू समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परेर त्यहाँ लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत पुगेका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । एक जना अझै बेपत्ता छन भने ४ जना गम्भीर घाइते भएका थिए ।

दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि इजरायल सरकारले युद्धको घोषणा गरेर हमासको बस्ती रहेको गाजा क्षेत्रमा भीषण आक्रमण गरिरहेको छ ।

यो युद्ध तत्काल रोकिने अवस्था नदेखिएकोले कामका लागि गएका नेपालीहरु पनि त्रसित छन् । शीघ्र उद्धारको माग गरिरहेका छन् ।

सरकारले यो उद्धार उडानमा यात्रुहरुको भाडा नलिने निशुल्क हुने बताएको छ ।

Share Now

Leave a comment.