काठमाडौं, १९ कार्तिक । कर्णाली प्रदेशका हजारौं भूकम्प पीडितहरुले भूकम्पपछिको दोस्रो रात पनि चिसो आकाशमुनि बिताउनु परेको छ । शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टरस्केलको भूकम्पले घरहरु क्षतिग्रस्त बनाएपछि पहिलो रात पनि उनीहरु घरबाहिर चिसो आकाशमुनि नै बिताएका थिए । त्यसपछि निरन्तर आएका पराकम्पले उनीहरु सुत्न सकेका थिएनन् । भत्केको घरमा परिवारका सदस्यहरु पुरिएका परिवारको त झन सहयोगको चित्कार र कोकोहोलो नैे थियो । विद्युत सेवा अवरुद्ध भएकोले अध्यारो रातमा उद्धार हुन पनि सकेको थिएन् ।
बिहान भएपछि आफन्त र छरछिमेकको सहारामा उद्धार कार्यमा जुटेका पीडितहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मी आएपछि केही आशा जागेको थियो । तर क्षतिको आकलन गरेर सरकारले उद्धारकर्मी पठाउन नसकेकोले पहिलो दिनको उद्धार त्यति प्रभावकारी हुन नसकेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल राजधानीमा बसेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै प्रदेश सरकार र स्थानीय सरकार परिचालनको समन्वय तथा उद्धार, उपचार र राहतका लागि राष्ट्रिय स्तरमा समन्वय गर्न छाडेर आफू एक्लो हिरो बन्ने प्रयासमा बिहानदेखि बेलुकासम्म प्रभावित क्षेत्रमा चहार्दा पहिलो दिनको खोजी,उद्धार र राहत कार्य प्रभावित बन्न पुगेको बताइन्छ ।
प्रधानमन्त्री दाहाल यो राष्ट्रिय विपत्तिमा खोजी,उद्धार, राहत तथा पुनःस्थापनको जस आफू र आफ्नो पार्टीलाई दिलाउन भ्रमणमा जाँदा आफ्नै सरकारका उपप्रधानमन्त्री र संबन्धित क्षेत्रका सांसदहरुलाई पनि साथ नलिई कन एक्लै निस्कनुभयो । यति ठूलो विपत्ति आउदा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालनको निर्णय पनि गराउनुभएन । सरकारको शिफारिस र राष्ट्रपतिको अनुमोदन बेगर नै नेपाली सेनालाई परिचालन गरियो जुन सबैधानिक र कानूनी हिसाबले गलत छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बसाउने, प्रभावित क्षेत्रमा पीडितहरुको खोजी,उद्धार,उपचार,अस्थायी शिविर सञ्चालन, राहत र पुनस्थापनाका लागि मन्त्रिपरिषद्का एक मन्त्रीलाई संयोजक तोक्ने, प्रदेश सरकारलाई मातहतको क्षेत्रमा रहेका सुरक्षा निकायको समन्वय गर्न लगाउने, स्थानीय निकायका पदाधिकारीहरुलाई उद्धार र राहतका लागि अपील गर्ने र सर्वदलीय बैठक गरेर सबै पार्टीका त्यस क्षेत्रका सबै तहका पार्टी संयन्त्रलाई खोजी, उद्धार र राहतका लागि आह्वान गर्न लगाएको भए पहिलो दिनबाटै भूकम्प पीडितहरुको खोजी,उद्धार र राहत कार्य प्रभावकारी हुने थियो ।।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसंग २०७२ साल बैशाखको गोर्खा भूकम्पमा खोजी, उद्धार, राहत र पुनस्थापना मात्र हैन नेपालको निजामति सेवासंग भूकम्पले क्षति गरेका भौतिक संरचनाहरुको पुनर्निर्माण गरेको अनुभव पनि थियो । आफ्नो मन्त्रिपरिषद्का वरिष्ठ उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको अवस्थामा उहाँलाई जिम्मेवारी दिएर सो क्षेत्रमा खटाउनुको सट्टा भूमिकाबिहिन बनाएर आफै भूकम्प प्रभावित क्षेत्रमा खटिदा प्रधानमन्त्रीले खोजी, उद्धार र राहतको महत्वपूर्ण २४ घण्टा गुमाउनु भएको छ । चिकित्सक,नर्स र उद्धारकर्मीसहित नोपली सेनाको हेलिकोप्टर पहिलो चरणको खोजी, उद्धार र राहत वितरण अवधिसम्म रहने व्यवस्था गरिदिएको भए कामहरु अरु बढी प्रभावकारी हुन्थ्यो ।
भूकम्पपीडितहरु पहिलो दिन भोकै काटेका छन् । प्रभावित क्षेत्रमा स्वच्छ पानी र स्वस्थकर खाना,लत्ता कपडा, त्रिपाल तथा टेण्टहरुको खाँचो छ ।
जनधनको क्षति
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १ सय ५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।
भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३ सय ७५ पुगेको छ।
शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताउनुभएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए।
उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ।
अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी गोर्खा भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाई लिइएको छ।
भूकम्प प्रभावितहरू घर बाहिर
शनिवार साँझ जाजरकोटको भूकम्प अतिप्रभावित क्षेत्रमा पुगेका बीबीसी संवाददाता प्रकाश पन्तका अनुसार त्यहाँ भूकम्प प्रभावितहरू घर बाहिर बसिरहेका छन्।
स्थानीय प्रशासनले कम्तीमा २४ घण्टा घरबाहिर रहन आग्रह गरेको बताइएको छ।
भूकम्पपछिका सम्भावित परकम्पहरूलाई ध्यानमा राखेर त्यस्तो आग्रह गरिएको अधिधारीहरूले जानकारी दिएका छन्।
चिसो मौसममा खुला आकाशमुनि बसिरहेका कतिपय भूकम्प प्रभावितहरूले पाल समेत नपाएको गुनासो गरेका छन्।
अधिकारीहरू के भन्छन् ?
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, “स्थानीय क्षेत्रमा रहेका सबै फौजहरू भूकम्प गएका ठाउँमा खटाइएका छन्। आठवटा प्लाटुन र सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित छ।”
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित सुरक्षाकर्मी खटाइएको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण छ। त्यहाँ धेरै घरहरू भत्किएका छन् भने ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या पनि बढी छ।”
उहाँले सुर्खेतमा रहेको गणबाट पनि सुरक्षाकर्मी खटाइएको र केन्द्रमा परिचालन हुनका लागि स्वास्थ्यकर्मीहरूको टोली तयार भएर बसेको पनि बताउनुभयो।
स्थानीय समय अनुसार राति ११ः४७ मिनेटमा गएको सो भूकम्पको धक्का पूर्वमा नेपालको राजधानी काठमाडौंमा पनि महसुस गरिएको थियो भने पश्चिम दक्षिणमा भारतको राजधानी नयाँदिल्ली कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो।
घाइते के भन्छन् ?
भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिका १२ की गीताकुमारी विष्टले एक छोरी गुमाउनुभयो भने उहाँ पनि घाइते हुनुभयो।
अस्पतालमा उपचाररत विष्टले सुर्खेतस्थित बीबीसी संवाददाता प्रकाश पन्तसँग कुरा गर्दै भन्नुभयो, “हामी तीन जना आमाछोरी माथिल्लो तलामा एउटै कोठामा सुतेका थियौँ। पहिले जेठी छोरीलाई मैले बाहिर निकालेर तल लगेर उद्धार गरे। सानी छोरीलाई बचाउन सकिएन।”
“एक्कासि आयो। मेरो चेत नै हराएको थियो। केही थाहा छैन। वरपर मान्छे कराए। मेरो होटेल नजिकै सशस्त्र प्रहरी थिए। उनीहरू आए। ‘म पनि जिउँदै छु’ भनेर कराएँ। ठूलो छोरीलाई बचाउन सकेँ, सानी छोरीलाई सकिन। १४ वर्षकी थिई।”
“अहिले उपचार गराइरहेकी छु। दाइने हात र दाइने खुट्टामा चोट लागेको छ। अवस्था ठिकै छ।”
उपचारको व्यवस्था
भेरी अस्पतालमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ।
राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा घाइतेहरूको उपचारका लागि १०५ वटा शय्या खाली गराइएको अधिकारीहरूले बताएका छन्।
बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मीलाई रक्तदानका लागि तयारी अवस्था राखिएको अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगन्जस्थित बीबीसी संवाददाता बिमला चौधरीले बताउनुभएको छ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले भूकम्पलगत्तै प्रभावित क्षेत्रमा प्रहरी लगायतका सुरक्षाकर्मीले घाइतेलाई उद्धार गर्ने काम थालेको जानकारी दिनुभएको छ।
उहाँका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धारका लागि ५६ जनाको टोली पठाइएको छ।
प्रहरी अस्पतालबाट औषधीसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडिसकेको डीआईजी ढकालले बताउनुभयो।
उहाँले भन्नुभयो, “ठाउँ(ठाउँमा सुक्खा पहिरो गएको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ। हवाई उद्धारका लागि पनि प्रयासहरू भइरहेको छ।”
जुम्लामा पनि क्षति
जाजरकोटको छिमेकी जिल्ला जुम्लामा पनि भूकम्पले क्षति पुर्याएका विवरणहरू आइरहेका छन्।
जाजरकोटसँग सिमाना जोडिएको तातोपानी गाउँपालिकाका धेरै घर चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार क्षतिबारे विवरण सङ्कलन गर्न प्रहरी टोली घटना स्थलतर्फ गएको छ।
प्रधानमन्त्री प्रभावित क्षेत्रतर्फ
यसैबीच प्रधानमन्त्री प्रचण्ड भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नुभएको छ।
उहाँले उक्त भूकम्पबाट भएको मानवीय एवं भौतिक क्षतिले मर्माहत भएको र घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको ब्यहोरा समाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीसहित ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली उद्धार, स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ लागेको उनको सचिवालयले जनाएको छ।
मोदीद्वारा दुःख व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ।
“यो दुःखको घडीमा भारत नेपालसँगै छ र सक्दो सबै सहयोग गर्न तयार छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गर्नुभएको छ ।
पाकिस्तानको समवेदना सन्देश
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवार उल हक काकड ले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन्।
एशोसिएटेड प्रेस अफ पाकिस्तानले जनाएअनुसार उहाँले सामाजिक सञ्जालको वेबसाइट एक्स (पहिलेको ट्विटर)मा राखेका सन्देशमा भनिएको छ, “नेपालमा अमूल्य जीउधनको नोक्सान हुने गरी गएको भूकम्पबाट प्रभावितहरू हाम्रो मन र प्राथर्नाहरूमा छन्।”
उहाँले भन्नुभएको छ,” यस्तो अप्ठ्यारो समयमा पाकिस्तान नेपालको साथमा छ र जे जस्तो सहायता आवश्यक पर्छ त्यसका लागि तयार छ।”


















