भेरीगङ्गा (सुर्खेत), २० कात्तिक : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।
आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।
यही कार्तिक १७ गते शुक्रबार राति ११ः४७ मा बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प आएको थियो । सो भूकम्पमा परेकाहरुको उद्धार कार्य सम्पन्न भएको सरकारले जनाएको छ ।
आजको भूकम्पले पूर्याएको क्षतिको विवरण आइसकेको छैन् । तर १७ गतेको भूकम्पले चर्केका भवनहरु भने भत्कने संभावना बढी भएको उद्धारमा सक्रिय सुरक्षाकर्मीहरुले बताएका छन् ।
सो भूकम्पमा परेर जाजरकोट,रुकुमपश्चिम,जुम्ला र आसपासका जिल्लामा भएको भवनको क्षतिको विवरण सार्वजनिक भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म भूकम्पमा परेर ९ सय १० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै २ हजार ८ सय ६१ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको छ भने २ सय ४६ जना घाइते भएका छन् । १ सय ४६ जना घाइते उपचारपछि घर फर्किसकेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको लागि १ हजार ४६ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।


















