Prakash Adhikari December 5, 2023

 

खुमलटार(ललितपुर), १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुक हुन् भन्ने कुरा बिर्सन नहुने बताउनुभएको छ।

उहाँले काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) स्थापनाको ४०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभाव राष्ट्रिय सीमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्न जाने स्मरण गराउनुभयो।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अहिलेको विश्व मानवसिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारण संकटमा छ। पहाडी संवेदनशील भूबनोट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ।’

राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण पनि गराउनुभयो।

राष्ट्रपति  पौडेलले भन्नुभयो, ‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रासामु ठूलो चुनौती छ। हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ।’

उहाँले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण, जीवीकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो।

राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हिन्दुकुश पर्वतीय शृंखला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, ऊर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागी महत्त्वपूर्ण सम्पत्तिका रुपमा रहेको सबैलाई विदितै छ। हिन्दुकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एकचौथाइ मानव जीवन आश्रित छन्। यो क्षेत्रको संरक्षण कति महत्त्वपूर्ण छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ।’

राष्ट्रपति पौडेलले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झण्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिनुभयो।

Share Now