Prakash Adhikari December 10, 2023

काठमाडौं, २४ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो पटक सर्किट लागेसँगै आइतबारलाई कारोबार बन्द भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केही खुकुलो नीति अख्तियार गरेसंगै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो।

समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक १ सय ११ अंकले बढेर बन्द भएको छ।

आइतबार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो। कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो।

४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतबारका लागि कारोबार नै बन्द भएको हो।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ।

आइतबार कुल ९ मिनेट मात्रै शेयर कारोबार भएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा बढोत्तरी देखिएको हो । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।

अघिल्लो कारोबार दिन (बिहीबार) १८५२.७८ अंकमा कायम भएको सेयर बजार आइतबार १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द भएको छ।

आइतबार ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ।

Share Now