Prakash Adhikari December 29, 2023

शरद केसी / बीबीसी न्यूज नेपाली

काठमाडौं, १३ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी संस्थाहरुको रकम अपचलन गरेको प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्नुभएको छ तर यो प्रकरणमा उहाँको आफ्नै पार्टीमा भने चर्को असन्तोष फैल्याएको छ। पार्टीका केन्द्रीय सदस्य र सांसदहरुले भद्र शैलीमा पार्टीको नेतृत्व छोड्न समेत आग्रह गरिरहेका छन् ।

पूर्वउपप्रधानमन्त्री रहिसक्नुभएका लामिछानेले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै दोस्रो दिन बिहीवार पनि स्पष्टीकरण दिनुभएको छ। ूशुभचिन्तकहरूलाई भ्रम नपरोस् भनेरू लेखेको उल्लेख गर्दै लामिछानेले लेख्नुभएको छ, “‘सार्वजनिक सुनुवाइमार्फत् जनताको कठघरामा उभिँदै छु।”

रविविरुद्ध तारन्तार समाचार आइरहँदा र उहाँले त्यसको प्रतिवाद गरिरहँदा रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै चर्चामा छ।

उहाँले लेख्नुभएको छ, “यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनिदिनुहोला। यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनुहोला।”

विराजभक्त श्रेष्ठको पोस्ट

अनुमानभन्दा फरक आशय ?

फेसबुक र एक्समा आएको उहाँको त्यो आग्रह र अपेक्षा सभापति लामिछानेप्रति लक्षित रहेको आकलन गरिएको छ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बिहीवार सामाजिक सञ्जाल त्यस्तै आशयको पोस्ट गरे।

“….हिजो माननीय विराजभक्त श्रेष्ठको एउटा गुम्सिएको ट्वीट पढेँ ….उहाँले इङ्गित गर्दै बिग्रिँदै गएको छविले आफ्नो निहित स्वार्थ स्थगन गरेर मार्ग प्रशस्त गर भनिएको थियो।”

बजगाईँले आफ्नो पोस्टमा ‘नयाँ उदाएको पार्टीले मेरो पार्टी नेपाली कांग्रेसलाई निकै गाली गरेर त्यति कलिलो उमेरमै यति धेरै सीट’ जितेको भन्दै सुरुमै लेख्नुभएको छ, “अब आफ्नो घरभित्रको भ्रष्टाचार गुटसँगै निकै निर्मम र आक्रामक ढङ्गले उपरोक्त पार्टीको बारेमा कांग्रेसले प्रतिकार गर्नुपर्ने छ।”

सांसद श्रेष्ठको पोस्टमा प्रतिक्रिया जनाएका अन्य केहीले पनि त्यो सभापति लामिछानेप्रति लक्षित रहेको ठानेको पाइन्छ।

स्वयं सांसद श्रेष्ठ विभिन्न चर्चा र अनुमानबारे मौन हुनुहुन्छ।

उहाँले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा भने आफ्नो पोस्टको आशय ती अनुमान र चर्चाभन्दा फरक रहेको बताउनुभएको छ।

“होइन, होइन। त्यो त्यतातिर लक्षित नै होइन,” उहाँले भन्नुभयो।

‘पार्टीमा कुनै आशङ्का छैन’

सभापति रवि लामिछाने यसअघि नागरिकता र पासपोर्ट विवादमा पनि पर्नुभयो। सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उहाँले गृहमन्त्री तथा उपप्रधानमन्त्रीको पद पनि गुमाउनुपरेको थियो।

उहाँले फेरि नेपाली नागरिकता कायम गराउनुभो। रिक्त रहेको चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा उहाँ फेरि निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बन्न सफल हुनुभयो ।

कतिपयले उनी एकपछि अर्को गम्भीर प्रकृतिका विवादमा जोडिने गरेको भन्दै उक्त दलका तुलनात्मक रूपमा विवादमुक्त र विषयविज्ञ नेताहरूका निम्ति लामिछाने अस्वीकार्य बन्ने आकलन गर्ने गरेको पाइन्छ।

त्यही पृष्ठभूमि वा त्यस्तो अपेक्षा राख्नेहरूलाई सांसद श्रेष्ठको पोस्टले थप बल दिएको ठानिएको छ।

“मेरो विगत हेर्नुभयो भने थाहा हुन्छ, म स्पष्टै भन्न सक्ने मान्छे हुँ। घुमाउरो पाराले कुरा गर्ने मान्छे होइन,” उहाँले भन्नुभयो, “मैले त नेपालमा आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिएर भाँजो हाल्ने प्रवृत्तिलाई लक्षित गरेर नैतिक प्रश्न उठाएको हुँ।”

उहाँले बाहिर चर्चा गरिए जस्तो आफ्नो पोस्टले पार्टीमा कुनै आशङ्का वा अविश्वास उत्पन्न नगरेको दावी पनि गर्नुभयो।

सभापति लामिछानेसँग बुधवार पनि कुरा भएको र अन्य नेता तथा कार्यकर्ताहरू लामिछाने मुछिएको प्रकरणका साथै आफ्नो पोस्टबारे स्पष्ट रहेको उहाँले बताउनुभयो।

 

“सहकारीको विषय एकदमै छाडा भयो, धेरै मान्छे ठगिए.. अर्थ मन्त्रालय वा राष्ट्र ब्याङ्कले हेर्नुपर्‍यो भनेर पटकपटक कुरा उठाएका छौँ
विराजभक्त श्रेष्ठ
उपसभापति, राष्ट्रिय स्वतन्त्र पार्टी

‘छानबिन गरियोस्, चरित्रहत्या होइन’

यसअघिका दुई विवाद सभापति लामिछानेसँग व्यक्तिगत रूपमा सम्बन्धित थिए।

सहकारी संस्थाले गरेको आर्थिक अपचलन सर्वसाधारणसँग जोडिएको छ।

देशका विभिन्न ठाउँमा विभिन्न संस्थाहरूबाट पीडितहरू कतै आन्दोलनमा छन् कतै हारगुहार गरिरहेका देखिन्छन्।

त्यसैले यस पटक सभापति लामिछानेको नाम जोडिँदा त्यसले उनको पार्टीलाई पनि धक्का पुग्न सक्ने कतिपयको ठम्याइ पाइन्छ।

तर सांसद विराजभक्त श्रेष्ठले भने, “हामीले बचाउ गर्न खोजेको होइन, तर कानुनबमोजिम गर्नुपर्ने कुरामा खालि चरित्रहत्या गर्ने ढङ्गले पनि जानुभएन।”

पार्टी बैठकहरूमा सभापति लामिछानेले आफ्नो कुनै संलग्नता नभएको र कानुनअनुसार हुने काममा सहयोग गर्ने भन्दै धन्दा नमान्न आफूहरूलाई भनेको पनि सांसद श्रेष्ठले सुनाउनुभयो।

“सहकारीको विषय एकदमै छाडा भयो, धेरै मान्छे ठगिए.. अर्थ मन्त्रालय वा राष्ट्र ब्याङ्कले हेर्नुपर्‍यो भनेर संसद् र संसदीय समितिमा पटकपटक कुरा उठाएका छौँ,” सांसद श्रेष्ठले भन्नुभयो, “यसबारे सबैभन्दा निर्मम ढङ्गले कुरा उठाउने नै हामी हौँ।”

लामिछानेको एक्लो प्रभावमा पार्टी बनेकाले अन्य नेताले उहाँको आलोचना गर्न सक्दैनन् भन्ने बुझाइ पनि एउटा वृत्तमा पाइन्छ।

“त्यसरी हेर्‍यो भने नेपाली राजनीति र समाजलाई अन्याय हुन्छ,” सांसद श्रेष्ठ भन्नुहुन्छ “यो उपलब्धिमा उहाँको सबैभन्दा ठूलो योगदान छ तर त्यो चाहना नेपाली जनताकै हो।”

Share Now