मंगलवा(सर्लाही), २१ पौष। शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा(कर्फ्यू) आदेश जारी भएको छ। विरोधप्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन्।
बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोधप्रदर्शनमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो।
दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएका छैनन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निजको मृत्युको कारण आफूलाई थाहा नभएको तथा आफूले सुरक्षाकर्मीलाई गोली प्रहार गर्ने आदेश नदिएको बताउनुभएको छ।
आन्दोलित पक्षले शवलाई घेरा हालेर बसेका कारण उठाउन नसकिएको उहँले जानकारी दिनुभएको छ। घटना सम्बन्धमा छानबिन गर्न तथा शव उठाउने विषयमा सबै पक्षसँग संवाद जारी रहेको उहाँले बताउनुभएको छ।
उक्त घटनालाई लिएर सदरमुकाम मलङ्गवा र कविलास नगरपालिकाको सलेमपुरमा पनि आज बिहानैदेखि टायर बालेर विरोधप्रदर्शन भइरहेका छ ।
शुक्रवार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही घाइते भएका थिए । झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
शुक्रवार बेलुका ५ः३० देखि शनिबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। बरहथवा क्षेत्रको अवस्था समान्य नभएपछि स्थानीय प्रशासनले आज पनि बिहान ८ देखि भोलि बिहान ८ बजेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ।
बरहथवामा अहिले भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हावामा गोली हान्नाका साथै र अश्रुग्यास प्रहार गरेको थियो।
नगरप्रमुख कटुवालको निवासअगाडि पार्किङ गरी राखिएको एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेको थिए।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद भएको थियो ।
प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको पहिलेको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको थियो ।
बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो ।


















