काठमाडौँ, ७ माघ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई रु १० लाख सहयोग गरेको छ ।
एनआरएनएको मुख्यालय बालुवाटारमा शनिवार आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।
सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई रु ८ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि रु २ लाख ५० हजार, पोखरा म्याराथनका लागि रु ७ लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि रु ५ लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रु १ करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको छ । साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको रु २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।