गीता पाण्डे / बीबीसी न्यूज
नयाँदिल्ली(भारत), ८ माघ । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुने कार्यक्रम छ।
सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २ हजार जनाको ज्यान गएको थियो।
मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ।
हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन्। उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ।
तर केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले भने मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै आफू उक्त कार्यक्रममा सहभागी नहुने घोषणा गरिसकेका छन्।
अयोध्या रामको जन्मभूमि भएको अनि रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन्।
भाजपाको उदय
सोही स्थानमा राममन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको ठानिन्छ।
झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर तीनतले छ। पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ। समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको छ।
प्रधानमन्त्री मोदीले अहिले केवल भुइँतलाको मात्र उद्घाटन गर्ने छन्। बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने ठानिएको छ।
मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मूर्ति गत साता मात्र सार्वजनिक गरियो। मूर्तिलाई मन्दिरको गर्भगृहमा रहेको सिङ्गमरमरको आसनमा विराजमान गराइएको छ।
सोमवारको समारोहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरिने बताइएको छ। त्यस क्रममा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत् मूर्तिलाई ुजीवन्तु बनाइन्छ।
‘व्यग्र प्रतीक्षाको घडी’
प्रधानमन्त्री मोदीले मन्दिर निर्माणलाई ठूलो उपलब्धि भन्नुभएको छ र समस्त देशले ज्यानुअरी २२ लाई व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको बताउनुभएको छ।
“कैयौँ पुस्ताले यो समयको प्रतीक्षा गरेका थिए,” यसै महिना उहाँले दिएको सन्देशमा मोदीले भन्नुभएको थियो। प्राणप्रतिष्ठा समारोहमा आफूले भारतका १ अर्ब ४० करोड मानिसको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो।
विपक्षीहरूको आफ्नै कार्यक्रम
यद्यपि केही महत्त्वपूर्ण धार्मिक नेताहरूले चाहिँ मन्दिरको निर्माण अपूर्ण भएको हुँदा त्यहाँ त्यस्ता कर्मकाण्ड गर्नु हिन्दू मान्यताविपरीत भएको भनेका छन् भने कैयौँ विपक्षी नेताहरूले भने समारोहमा भाग नलिने घोषणा गरेका छन्।
भारतमा आगामी केही महिनामा निर्वाचन हुँदै छ। मोदीका राजनीतिक विरोधीहरूले उहाँले मन्दिरको नाममा भोट माग्न लागेको आरोप लगाएका छन्। भारतका ८० प्रतिशत जनता हिन्दू धर्मावलम्बी छन्।
विपक्षी दलहरूको नेतृत्व रहेका केही राज्यहरूले सोमवार आआफ्नै कार्यक्रम राखेका छन्।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले कोलकाताको प्रसिद्ध काली मन्दिरमा प्रार्थना गर्ने बताउनुभएको छ।
पूर्वी राज्य ओडिशाले जगन्नाथ मन्दिरमा भक्तहरूलाई निम्त्याउने ठूलो योजना अघि सारेको छ।
सुरक्षा प्रबन्ध
अयोध्यामा सुरक्षा व्यवस्था र आवतजावत मिलाउन हजारौँ प्रहरीलाई खटाइएको छ।
भाजपाको गेरु रङ्गको झण्डा अनि हिन्दू देवीदेवताका चित्रहरू मुख्य सडकवरपर राखिएको देखिन्छ। कैयौँ सडकमा पहेँला अनि सुन्तला रङ्गका सयपत्री फूल सजाइएको छ।
मन्दिरको निर्माण सम्पन्न भएपछि त्यहाँ प्रतिदिन डेढ लाख आगन्तुकहरूले भ्रमण गर्ने अधिकारीहरूको अपेक्षा छ। आगन्तुकहरूको भिडलाई थेग्न नगरमा महिनौँदेखि निर्माणको काम धमाधम भइरहेको छ।
केही सातायता नयाँ विमानस्थल र नयाँ रेलवे स्टेशन खुलेका छन् भने कैयौँ नयाँ होटल बनेका छन् अनि विद्यमान संरचनामा थप सजावट गरिँदै छ।
सरयू नदीको किनारमा अवस्थित अयोध्या नगरको विकासका लागि सरकारले ३.८५ अर्ब डलर छुट्ट्याएको छ।
अधिकारीहरूले भक्तजन तथा पर्यटकहरूका निम्ति अयोध्यालाई विश्वस्तरीय सहर बनाइँदै गरेको बताएका छन्।
तर कतिपय स्थानीय मानिसले बीबीसीसँग कुरा गर्दै सडक विस्तार गर्न तथा अन्य सुविधा थप्न उनीहरूका घर, पसल तथा ‘धार्मिक प्रकृतिका संरचना’हरू या त पूर्ण या त आंशिक भत्काइएको बताएका छन्।


















