Prakash Adhikari January 22, 2024

विनिता दाहाल / बीबीसी न्यूज नेपाली

काठमाडौ, ८ माघ ।  इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै आएकी नेपालकी मेनुका पौडेल उत्कृष्ट १० मा पर्न सफल भएकी छन्।

असाध्यै प्रतिस्पर्धात्मक मानिने भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उनी उत्कृष्ट १० मा परेको घोषणा आइतवार साँझ प्रसारित कार्यक्रममा भएको हो।

आशा भोसलेको “कजरा मोहब्बत वाला” र “पान खाए सैयाँ हमारो” बोलका दुई वटा गीत गाए लगत्तै उनलाई तीनै जना निर्णायकहरू कुमार सानु, विशाल ददलानी र श्रेया घोषालले सधैँ जसो ‘स्ट्यान्डिङ ओवेशन’ दिएका थिए।

गीत सकिए लगत्तै घोषालले सधैँ लता मङ्गेशकरका गीत छान्ने मेनुकाले यो एपिसोडका लागि आशा भोसलेको गीत छानेर ‘सप्राइज’ दिएको बताइन्।

पछिल्लो एउटा एपिसोडमा गीत गाउँदा गाउँदै मेनुका रोकिएकी थिइन्।

उनले आफ्नो मुटुको धड्कन बढेको भन्दै गाउन रोकेर केही समयपछि पुनः गाएकी थिइन्। तर त्यसपछिको एपिसोडमा मेनुकाले आफ्नो ‘कम्फर्ट जोन’ अर्थात् सहजता छोडेर चुनौती लिएको र राम्ररी गाएको भन्दै गायिका घोषालले तारिफ गरिन्।

“यो त एकदमै सप्राइज भयो। सधैँ लताजीको गीत छान्ने मेनुकाले आज आशाजीको गीत छानिन् र त्यो पनि पूरै हाउभाउ, अभिनयसहित गाइन्,” घोषालले भनिन्।

“आजको एपिसोड महत्त्वपूर्ण हो। पहिला दुई वटा एपिसोडमा मेनुका लडखडाएकी थिइन्। गीतका शब्दहरू बिर्सेकी थिइन्। तर आज उनले यो जोखिम मोलिन्। आफ्नो कम्फर्ट जोनबाट निस्केर यस्तो गीत चुनिन् जुन उनको शैलीको गीत होइन।”

जुन दुई वटा गीत मेनुकाले गाइन् त्यस्तो खालको गीत आफूले अपेक्षा नै नगरेको उनले बताइन्।

“त्यसैले म तिम्रो लागि धेरै खुसी छु। यो नै तिम्रो खास कुरा हो र यसैलाई कायम राख्दै आएकी छौ। यसैले तिमीलाई उत्कृष्ट १० बाट उत्कृष्ट ३ सम्म लैजानेछ।”

दृष्टिविहीन मेनुकाले अब आफ्नो अगाडिका मानिसलाई चिन्न सक्छिन्?

जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लगिएको विषय पनि आइतवारको कार्यक्रममा प्रस्तोता हुसेनले उल्लेख गरेका थिए। तर उनको आँखाको अवस्था हेरेका डाक्टरले मेनुकाको आँखाको अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताए।

तर आफूहरूसँग यस्तो खालको उपकरण रहेको जसले गर्दा मेनुकाले धेरै कुराहरू आफैँ गर्न सक्ने बताए।

“जस्तै उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्छिन्,”कार्यक्रममा प्रसारित भिडिओमा ती डाक्टरले भने।

डाक्टरले यसो भने लगत्तै निर्णायकहरू र कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेका थिए।

घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताइन्।

मेनुकाले पनि त्यसको प्रतिक्रियामा धन्यवाद व्यक्त गर्दै आफू निकै उत्साही भएको बताइन्।

अनि मेनुकाले पार गरिन् ११ नम्बरको खड्गो

उत्कृष्ट १० मा पर्नु मेनुकाका लागि एउटा ठूलो सफलता मात्रै होइन विगतका कुनै रियालिटी शोमा पुग्न नसकेको स्थान पनि हो।

जब उनी इन्डियन आइडलको उत्कृष्ट १५ मा पुगेर प्रत्येक कार्यक्रममा निर्णायकहरूको वाह वाही पाउँथिन्, उनका बच्चै बेलादेखिका साथी उज्ज्वल सागर उनलाई पहिला ११ नम्बरको ‘खड्गो’ पार गर्न भन्थे।

मेनुकाका अनुसार उज्ज्वलले ११ नम्बरलाई “च्यानल गेट” को सङ्ज्ञा दिएका थिए।

जब उनले त्यो खड्गो पार गरिन् र उत्कृष्ट १० मा पुगिन्, उनले खुसी साट्न उज्ज्वललाई नै फोन गरिन्।

मुम्बईबाट उनले फोनमा भनिन्, “तैँले भनेको ११ नम्बरको च्यानल गेट मैले पार गरेँ।”

जवाफमा उज्ज्वलले रमाइलो मानेर भने, “हो च्यानल गेट पार भयो। अब नाँच्।”

उज्ज्वलका अनुसार उनीहरू दुई सङ्गीतका गम्भीर विषय छलफल र अभ्यासमात्रै गर्दैनन्, एकअर्का तँ तँ र मँ मँ गर्दै घन्टौँ गफिन्छन् पनि।

मेनुकाले ११ औँ नम्बरको खड्गो पार गरेकामा एकदमै खुसी सुनिएका उज्ज्वलले बीबीसीसँग भने, “मेनुका जुन स्थानमा पुगी त्यसमा उसको मिठो आवाज, गायन कला र हदैसम्मको मिहिनेतले सम्भव भएको हो।”

कुनै पनि असजिलो गीत प्रस्तुत गर्नुअघि कम्तीमा १ सय पटक मेनुकाले ब्याक स्टेज गीत गाएर अभ्यास गर्ने गरेको उज्ज्वलले सुनाए।

मेनुकाको विगत हेर्ने हो भने उनलाई ११औँ नम्बर नफापेको उज्जवल बताउँछन्।

असल साथीको भूमिका निभाउँदै उनले मेनुकालाई त्यो पार नगर्दासम्म त्यति धेरै उत्साही नहुन सुझाउने गरेका थिए।

केही समयअगाडिको टेलिफोन संवादमा आफूले मेनुकालाई भनेको कुरा सुनाउँदै उज्ज्वल भन्छन्, “तँ सधैँ ११औँ नम्बरमा पुगेर माथि जान पाउँदिनस्। पहिला तैँले त्यो ११ औँ नम्बर पार लगाउनुपर्छ।”

रियालिटी शोमा मेनुकाले भाग लिएको यो पहिलो पटक होइन।

चार वर्षअघि उनी भारतमै हुने अर्को रियालिटी शो सारेगमपमा पनि पुगेकी थिइन्। त्यसको अडिसनमा पनि उनले दिग्गज कलाकारहरूबाट वाहवाही बटुलेकी थिइन्।

अहिले इन्डियन आइडलमा जस्तै हरेकजसो एपिसोडमा मेनुकाले उच्च स्कोर सहित ‘स्ट्यान्डिङ ओवेसन’ पाउँथिन्।

तर त्यतिबेला टप ११ को प्रतिस्पर्धाबाटै उनी बाहिरिइन्। त्यसअघि नेपाल आइडलबाट आफ्नो परिचय बनाएकी मेनुका त्यहाँ पनि मतदानका आधारमा हुने निर्णयमा ११औँ स्थानमै सीमित बनिन्।

उज्ज्वलका अनुसार एसएलसीपछि काठमाण्डूको श्रृजना कलेज अफ फाइन आर्टस् पढ्दै गरेकी मेनुकाको पढाइ पनि ११औँ कक्षामा अड्किएको थियो।

तर मेनुकाले कुनै एउटा कार्यक्रममा अन्तर्वार्ता दिँदै भनेकी छन्, “आत्तिने र मात्तिने कुरा मेरो शब्दकोशमा छैन।”

Share Now