Prakash Adhikari January 27, 2024

 

काठमाडौँ,१३ माघ । प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ ।

शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो ।

यो जितसँगै बागमतीले ९ खेलमा ६ जित सहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब शीर्ष दुई र शीर्ष चारमा आफू परे नपरेको थाहा पाउन अन्तिमसम्म कुर्नु पर्ने छ । लिग तालिकामा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्ने छन् भने शीर्ष चारले तीन(दिवशिय खेल हुने एलिट ट्रफीमा प्रतिस्पर्धा गर्ने छन् ।

आजको खेलमा लुम्बिनी प्रदेशले दिएको १ सय ७ रनको झिनो लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पुरा गर्यो ।

बागमतीका लागि ओपनर इशान पाण्डेले ५४ बलमा ५ चौका र २ छक्का सहित ५० रनको अर्धशतकिय इनिङ खेले । यस्तै कप्तान रित गौतमले ३३ बलमा २४ रन बनाए । ओपनर आशुतोष घिराइयाले १४ रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १ । १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १ सय ६ रनमा समेटियो । स्पिनर सूर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको हो ।

बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चिंदै सर्वाधिक ६ विकेट लिए । योसँगै सूर्यको यस संस्करणमा ९ खेलमा ३० विकेट पुगेको छ । यस्तै बिपिन आचार्यले २ विकेट लिँदा प्रतिष जिसी र क्रिजन गुरुङले समान १ । १ विकेट लिए ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । उनले ५५ बल खेल्दै ३ चौका सहित २८ रन बनाएका थिए । यस्तै तल्लोक्रमका ब्याटर निर्मल गुरुङ ३२ बलमा ३ चौका र १ छक्कासहित २७ रन्को अविजित इनिङ खेले । प्रज्वल थापाले १४ रन बनाउँदा बिराट भण्डारी १३ रनमा आउट भए । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

Share Now