इस्लामावाद(पाकिस्तान), १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।
उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो।
खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो।
विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उहाँ प्रधानमन्त्रीबाट हट्नुपरेको थियो।
निर्वाचनभन्दा एक साताअघि सजाय
खान भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर अहिले तीन वर्षको जेल सजाय भोगिरहनुभएको छ।
इमरान खानले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आउनुभएको छ।
गोपनीयतासम्बन्धी ऐनअन्तर्गत उहाँलाई उक्त सजाय तोकिएको हो।
पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि खानविरुद्ध उक्त सजाय सुनाइएको हो।
उहाँलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन।
फेब्रुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदै छ।
क्रिकेटबाट राजनीतिमा आउनुभएका खानलाई हालका सत्ताधारीले जसरी पनि चुनावमा भाग लिनबाट रोक्ने रणनीति अपनाएको कतिपयले बताउने गरेका छन्।


















