काठमाण्डौ, २५ बैशाख । प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपाललाई अन्तराष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि नभएको बताएका छन् ।
उनले आफ्नो सरकार आउँदो तीन वर्षभित्र अति कम विकसित राष्ट्रको सूचिबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रीत रहेको बताउँदै देशको विकास र समृध्दिका लागि सबै छिमेकी राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने विश्वास व्यक्त गरेका छन् ।
विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै उनले चीनको वेल्ट एण्ड रोडको योजना र भारतको सबको साथमा सबैको विकास गरिने नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गरे ।
अढाई दशकदेखि वेलायतको तल्लो सदन हाउस अफ कमन्समा प्रतिनिधित्व गरिरहनु भएका निगेल इभान्सको नेतृत्वमा आएको वेलायती सांसदहरुको प्रमण्डलमा डेभिड मोरिश, वीरेन्द्र शर्मा, केरी म्याकार्थी र माथिल्लो सदनका लर्ड बाल्फ सम्मिलित छन् ।
अन्तर संसद युनियन, आई पी युको वेलायती समूहको प्रतिनिधि मण्डलसँग आफ्नै निवासमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकालीन घटनाहरुका सम्बन्धमा नेपालको कानुन, त्यसबेलाका घटनाहरुको सत्य तथ्य छानवीन गर्न बनाइएको आयोग र वेपत्ता पारिएकाहरुको छानवीन गर्न बनाइएको आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाए ।
उनले द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भए पनि मानवअधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेहरुलाई क्षमादान नदिइने प्रष्ट पारे ।
नेपाल र वेलायतको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले वेलायतको लोकतन्त्र र संसदबाट नेपालले धेरै सिकेको बताए ।
नेपाल भाषिक र साँस्कृतिक विविधताले भरिपूर्ण धर्म निरपेक्ष देश भएकोले कुनै पनि धर्म, संस्कृति अंगाल्नेहरुप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको उनले प्रष्ट पारे ।
संविधानका ३१ वटा धारामा मौलिक हकहरुको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायहरुमा ४१ प्रतिशत महिलाहरुको प्रतिनिधित्व रहेको उल्लेख गरे ।
यसले राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको सहभागिता र सामाजिकीकरणको प्रकृयामा अभिवृध्दि भएको उनको दावी थियो ।








