Prakash Adhikari February 10, 2024

काठमाडौं, २७ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीनसंगका ब्यापारिक नाका केरुङ र तातोपानी जोड्ने नेपालतिरका सडक पूर्वाधार कमाजोर भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरू तुलनात्मक रुपमा कमजोर नै रहेको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरू भएको स्मरण गराउदै भन्नुभयो, त्यसले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भूमिका निर्वाह गर्ने अपेक्षा छ। चीनसँगका सञ्चालनमा रहेका व्यापारिक नाकाहरू जाने सडक पूर्वाधारहरू तुलनात्मक रुपमा कमजोर छन् । तिनको जति सक्दो छिटो सुधार गर्न आवश्यक छ । ’

महासंघका अध्यक्ष ढकालले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सडक सञ्जाललाई व्यवस्थित बनाउन जोड दिनुभएको थियो । उहाँले भन्नुभयो‘नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक छ। सीमा नाकाहरू जोड्ने सडक सञ्जाललाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने छ।’

उहाँले नयाँ नाका खोल्ने सम्झौताहरू भएकाले नेपालको व्यवसायिक गतिविधि बढाउन धेरै सहयोग पुग्ने दाबी गर्दै भन्नुभयो, नाका खोल्नु एउटा पक्ष हो खोलिएका नाकाबाट व्यापारिक लाभ लिनका लागि ती नाका जोड्ने सडक फराकिला, पक्की र बाह्रैमहिना चल्न सक्ने हुनुपर्दछ । सरकारले सडक सञ्जाल निर्माण गर्दा यसमा ध्यान पुर्याओस् ।

Share Now