Prakash Adhikari February 18, 2024

 

काठमाडौं, ६ फागुन। नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचन प्रणालीमा पुनरावलोकन र संशोधनको आवश्यकता औल्याउनुभएको छ ।

नेपाली कांग्रेसको महासमितिको बैठकको पूर्वसंध्यामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बीपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले आइतबार गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले सो आवश्यकता औल्याउनु भएकको हो ।

उहाँले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबिच तादाम्यता कायम हुन नसकेको बताउनुभयो।

‘एकातिर संसदीय प्रणाली छ, अर्कातिर बहुमतको सरकार बन्ने स्थिति नै छैन,’ उनले भने, ‘कतै हाम्रो निर्वाचन प्रणालीमै समस्या त होइन रु कांग्रेसले अब पहल गर्नुपर्छ । सबै दलसँग बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणाली बदल्नुपर्छ ।’
नेपाली कांग्रेसका नेता कोइरालाले भन्नुभयो ।

उहाँले देशका सबै तहमा भ्रष्टाचार भएको आम अनुभूति रहेको उल्लेख गर्दै भ्रष्टाचार निमिट्टयान्न नपारे यो व्यवस्था र यसका पक्षधर सबैप्रति जनतामा वितृष्णा उत्पन्न हुने स्थिति रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, लोकतन्त्रमा कोही पनि कानूनमाथि हुदैन् । भ्रष्टाचारको सन्दर्भमा शून्यसहनशीलताको नीति लिनुपर्दछ ।

नेता कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन हुनुपर्ने बताउनुभयो ।

कोइरालाले महासमितिमा पेश गरिने प्रस्तावहरू मौलिकतामा आधारित हुनुपर्ने बताउनुभयो।

महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।

‘यसपालि केन्द्रीय समितिमा पेश भएको महासमितिमा पेश गरिने प्रस्तावहरू एकीकृत रूपमा आएन। परिमार्जन होस् भन्ने मेरो चाहना हो, मौलिकतामा आँच आउन हुँदैन । मौलिकतामा आधारित बनाउनुपर्छ,’ कोइरालाले भन्नुभयो, ‘पहिलेका महासमिति र यस पटक केही अन्तर हामीले पाएका छौँ । मलाई के लागेको छ भने —कतै कांग्रेसले मौलिकता त गुमाएको होइन ? यसमा मलाई चिन्ता लागेको छ।’

नेता कोइरालाले महासमिति बैठकमा छलफलका लागि पेश गरिने प्रस्तावहरूमा गठबन्धनको छाया देखिएको बताउनुभयो। ‘गठबन्धनको छायाले हामीहरू ग्रसित भएका हौँ कि भन्ने चिन्ता लागेको छ,’ उहाँले भन्नुभयो ।

कांग्रेस नेता डा.कोइरालाले आफूलाई जिल्ला जिल्ला जाँदा कार्यकर्ताहरुले नेपाली कांग्रेस माओवादीको पुच्छर भएको भन्दै जिल्ला जिल्लाको संगठन कमजोर भएको बताउने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांंग्रेसको मत ३४-३५ प्रतिशतबाट २७ प्रतिशतमा झरेको छ । संगठनलाई बलियो बनाउन कांग्रेस गठबन्धन र कम्युनिष्टहरुको छायाबाट मुक्त हुनै पर्दछ ।”

Share Now