को हुन् केशरजंग बराल ?
विसं २०१४ सालमा पाल्पामा जन्मिनुभएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय हुनुहुन्छ । २०३९ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन सुरू गर्नुभएका बराल २०४१ सालतिर पोखराको पृथ्वीनारायण क्याम्पस सरुवा हुनुभएको थियो ।
त्यहाँ पढाउँदै गर्दै विश्वविद्यालयको वृत्ति विकास कार्यक्रमअन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाउनुभएका बराल २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना हुनुभयो । र, विद्यावारिधिको अध्ययन समयमै सक्नुभयो ।
उहाँलाई २०५५ सालमा दिल्ली युनिभर्सिटीले विद्यावारिधी (पीएचडी) को उपाधि प्रदान गर्यो । भारतमा अध्ययन सकेर नेपाल फर्कनुभएका डा. बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाउनुभयो ।
पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाउनुभएका डा. बरालले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गर्नुभयो । त्यहाँ उहाँले साढे तीन वर्ष काम गरेका गर्नुभयो र पुनः क्याम्पसमै फर्केर अध्यापनमा लाग्नुभयो ।
क्याम्पसमा उहाँ वित्तशास्त्रको विभागीय प्रमुख भएर काम गर्नुभयो । त्योसँगै उहाँले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गर्नुभयो । त्यही बेला उहाँ व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत हुनुभयो । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गर्नुभयो । त्यसपछि उहाँ त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त हुनुभयो ।
पोखरामा स्थापना हुने चर्चामा रहेको पोखरा विश्वविद्यालयको सुरुवाती समयदेखि नै उहाँ सक्रिय हुनुहुन्थ्यो । पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उहाँले व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गर्नुभयो ।
त्यसपछि २०६४ सालमा सरकारले उहाँलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्यो । र, उहाँले चारवर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा हुनुभयो । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पूरा गरेसँगै उहाँ पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किनुभयो । त्यसपछि उहाँ अमेरिका जानुभयो । त्यही पढाउनु भयो । उहाँ २०६४ सालमा नेपाल फर्किएर त्रिविमा पढाउन थाल्नुभयो ।
२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गर्नुभएको थियो। त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गर्नुभएका प्रा. डा. बराल त्यसपछि २०६९ सालमा भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन जानुभयो । त्यहाँ एक वर्ष अध्यापन गर्नुभयो । र त्यसपछि नेपाल फर्केर त्रिविमा नै पढाउन थाल्नुभयो । उहाँ २०७७ सालमा त्रिविबाट सेवानिवृत्त हुनुभएको थियो ।
सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबिच विवाद बढेको थियो । उक्त विवाद समाधान गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको थियो । बरालले उक्त समिति समस्या भएर समेत काम गनुभयो ।
अहिले उहाँ विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आउनुभएको छ । साढे दुई वर्षदेखि उहाँ विज्ञको रूपमा कार्यरत हुनुहुन्छ ।
अहिले उहाँले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई गाईड गर्नुहुन्छ ।