
काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ।
राजर्षि जनकपुत्री सिताको जन्मस्थान जनकपुरधामबाट आरम्भ हुने छिमेकी मित्र राष्टका प्रधानमन्त्रको स्वागत र सत्कारका लागि प्रदेश २ को सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो ।
प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ।
भारतको पटनाबाट सिधै जनकपुरधाम आउने भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा तीन वटा हेलिप्याडको निर्माण गरिएको छ। भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उनको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ।
जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन।
प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम मुताबिक ती बाटामा पर्ने सडकलाई कालोपत्र गरिएको छ भने सडकको दुवैतिरका पर्खाललाई केशरिया रङले सिङ्गारिएको छ।
त्यसैगरी, जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ।
कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर आउने र सो मन्दिरमा उनले षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्नेछन्। विशेष पूजाका बेलामा १०१ पण्डितले शंख बजाउने कार्यक्रम रहेको छ।
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने छ। जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बस सेवा आरम्भ गर्नेछन्।
त्यसपछि, प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघामा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन्।
भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सघन सुरक्षाको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल रूद्रवाहिनी पथलैयाका बाहिनीपति कवीन्द्रमान श्रेष्ठले बताए। प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखी पूर्वको सप्तरीदेखि पश्चिममा पर्सा जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौं आगमन र ‘गार्ड अफ अनर’
जनकपुरको अभिनन्दन पश्चात भारतीय प्रधानमन्त्री मोदीको काठमाडौ आगमन हुनेछ । उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मोदीलाई स्वागत गर्ने कार्यक्रम छ।
त्यसपछि मोदी सीधै आफू बस्ने होटल हायात जानेछन्।
होटेल हायातमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्नेछन्।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च टुँडीखेल प्रस्थान गर्नेछन्। टुँडीखेलमा प्रधानमन्त्री ओलीले उनको स्वागत गर्नेछन् भने त्यही उनलाई गार्ड अफ अनरले सम्मान गरिनेछ।
टुँडीखेलको कार्यक्रम सकिएपछि मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसंग शिष्टाचार भेटको लागि बहादुर भवन जानेछन्।
पुनसँग शिष्टाचार भेट पछि छिमेकी देशका अति विशिष्ट पाहुना राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न शीतलनिवास जानेछन्।
राष्ट्रपतिसँगको भेट सकिएपछि मोदी सीधै बत्तीसपुतलीस्थित होटल द्वारिकाज जानेछन् । सोही होटलमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी प्रधानमन्त्री मोदीबीच ‘वान टु वान’ वार्ता हुनेछ। द्वारिकाज होटलमा मोदीसँग नेपालका केही पूर्वप्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ।
दुवै देशका प्रधानमन्त्रीले त्यही आयोजित विशेष समारोहमा अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्तरुपमा शिलान्यास गर्नेछन्।
त्यसपछि प्रेसविज्ञप्ति जारी गरिनेछ।
होटल द्वारिकाजमा नै प्रधानमन्त्री ओलीले मोदीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन्। रात्रीभोजमा सहभागी बनेपछि मोदी बौद्धस्थित होटल हायात जानेछन्।
भारतीय प्रधानमन्त्री मोदीको आजको कार्यक्रम यही अन्त्य हुनेछ।
शनिवार मुक्तिनाथ दर्शन र दुई अभिनन्दन
भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदी बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी भारतीय सेनाको विशेष हेलिकोप्टरमार्फत मुक्तिनाथ प्रस्थान गर्नेछन्।
मुक्तिनाथमा पूजा सकिएपछि हेलिकोप्टरमै मोदी जोमसोम जानेछन्।
जोमसोममा पनि उनको नागरिक अभिनन्दन हुनेछ ।
त्यसपछि उनी हेलिकोप्टर उनी काठमाडौं आउनेछन्।
एअरपोर्ट अवतरण भएपछि उनी होटल हायात जाने कार्यक्रम छ।
त्यसपछि उनी नेपालका लागि भारतीय राजदूर मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्।
त्यसपछि उनी राष्ट्रिय सभागृह जाने कार्यक्रम छ, जहाँ उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ।
नागरिक अभिनन्दन सकिएपछि मोदी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी अपराह्न बिशेष विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।