Prakash Adhikari May 11, 2018

जनकपुरधाम(धनुषा), २८ बैशाख । प्रधानमन्त्री के.पी. ओलीको निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा निस्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदेश २ को राजधानी जनकपुरमा उत्रिएका छन् ।

जनकपुर एअरपोर्टमा छिमेकी मित्र राष्ट भारतका अतिविशिष्ट पाहुनालाई संघीय सरकारका रक्षा मन्त्री इश्वर पोखरेल र प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री ओलीको स्वागतमा प्रदेश नं २ बाट संघीय संसदमा निर्वाचित सांसद तथा प्रदेश सभाका सदस्यहरु पनि एअरपोर्ट परिसरका पुगेका थिए ।

एअरपोर्टबाट भारतीय प्रधानमन्त्री मोदी सीधै जानकी मन्दिर गएका छन् ।

त्यहाँ उनलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री ओली मोदीको स्वागतका लागि आज बिहान हेलिकोप्टरबाट जनकपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वागत पछि भारतीय प्रधानमन्त्रीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट पूजा अर्चना गर्ने कार्यक्रम छ ।
पूजा अर्चना पछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रामायण सर्किट नामक धार्मिक पर्यटन मार्गको उद्घाटनका साथै हरियो झण्डा हल्लाएर जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्ने कार्यक्रम छ ।

त्यसपछि भारतीय प्रधानमन्त्री उनको सम्मानमा जनकपुर उपमहानगर पालिका र प्रदेश नं २ को सरकारका तर्फबाट आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनेछन् ।

नागरिक अभिनन्दन कार्यक्रम पछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आउने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री एण्डिन एअरको एटीआर जहाजबाट आजै नयाँ दिल्लीबाट जनकपुर आएका हुन् ।

 

Share Now

Leave a comment.