
काठमाडौं, २८ बैशाख(बीबीसी) । नेपालको राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो यो भ्रमणलाई तीर्थाटनका रूपमा परिभाषित गर्दै नेपाल र भारतको प्राचीनकालदेखि सांस्कृतिक एवम् धार्मिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका रूपमा उनको यो तेस्रो नेपाल भ्रमण हो।
मोदी शुक्रवार बिहान भारतबाट सीधै जनकपुरधाम पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वागत गरिएका उनले रामजानकी मन्दिरमा पूजाआजा गरे।
दुई देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा जनकपुर-अयोध्या बस सेवाको शुभाराम्भ गरेका थिए।
पुरानो सम्बन्ध
त्यसपछि आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै मोदीले भने, “यस पटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रूपमा भन्दा पनि प्रधान तीर्थयात्रीको रूपमा रहनेछ।”
जनकपुरबाट उनी काठमाण्डू आएका छन्।
सन् २०१४ मा पहिलो पटक नेपाल आउँदा नेपालको संसद्मा सम्बोधन गर्दै मोदीले “धेरै धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुको रूपमा म यहाँ आएको थिएँ” भनेका थिए।
भारतको गुजरात निवासी मोदीले युवावस्थामा हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रमा बसेर साधना गरेको हुनसक्ने केही विद्वान्हरूको मत छ।
उनको भ्रमण-तालिकामा मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको दर्शन पनि संलग्न छ।
प्रदेश नं २ ले गरेको अभिनन्दनमा बोल्दै भारतीय प्रधानमन्त्रीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि ‘एक अर्ब रुपैयाँ बराबरको सहयोग’ प्रदान गर्ने घोषणा गरे।
तर ती परियोजना भने नेपालको केन्द्र र प्रदेश सरकारसँग सल्लाह गरेर छनोट गरिने उनले बताए।
‘नेपालविना राम अधुरा’
सम्बोधनका क्रममा मोदीले नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक एवम् धार्मिक सम्बन्ध रहेकोको उल्लेख गर्दै भने, “नेपालविना हाम्रो धाम अधुरो छ, हाम्रा राम पनि अधुरा छन्।”
प्राचीन कालमा जनकपुरका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका छोरा रामसँग भएको पौराणिक मान्यता छ।
सीताका बहिनीहरूको विवाह पनि रामका भाइहरूसँग भएको थियो।
लुम्बिनीमा गौतम बुद्धको जन्म भएको विषयबारे पनि चर्चा गर्दै मोदीले बोधगया र रामेश्वरम्का तीर्थयात्रीका लागि समेत क्रमश: लुम्बिनी र पशुपतिनाथको महत्त्व रहेको उल्लेख गरे।
बौद्ध सर्किट र जैन सर्किटमा पनि नेपालका सम्पदा क्षेत्रहरूलाई समावेश गरिने उनले बताए।
मोदीले व्यक्ति र सरकार आउनेजाने भएपनि नेपाल र भारतबीचको सम्बन्ध ‘अजर अमर’ रहने बताएका थिए।
संविधानको प्रसङ्ग
अभिनन्दन समारोहमा बोल्दै प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ‘विभेदकारी संविधानविरुद्ध प्रदेश नम्बर दुईका जनताले सङ्घर्ष’ गरिरहेको बताए।
उनले भने, “हामी सबैले क्षमताअनुसार अवसर पाउने व्यवस्था ल्याउन सङ्घर्ष गरिरहेका छौँ। तपाई समान्य पृष्ठभूमिको मानिस भारतको प्रधानमन्त्री बन्न सक्नुभयो, यहाँ पनि त्यस्तै अवस्था आओस्।”
राउतले मोदीको भ्रमणले हिन्दु तीर्थस्थल जनकपुरले अन्तर्राष्ट्रिय चर्चा पाउने अपेक्षा व्यक्त गरे।
उक्त समारोहमा भारतीय प्रधानमन्त्री मोदीलाई साङ्केतिक रूपमा जनकपुरको साँचो दिइएको थियो।
‘दु:खमा साथ’
सन् २०१५ मा जारी संविधानप्रति असन्तोष व्यक्त गर्दै भारतले नेपालविरुद्ध नाकाबन्दी गरेको बताइन्छ।
मोदीको भ्रमणका बेला कतिपयले सामाजिक सञ्जालमा सन् २०१५ मा नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दी बिर्सन नसकिने भन्दै उनले क्षमा माग्नुपर्ने टिप्पणी गरेका छन्।
तर मोदीले ‘आफ्नो पहाडजत्रो दु:खलाई लुकाएर भए पनि मित्रको सानो दु:खमा साथ दिनुपर्छ” भन्ने टिप्पणी गरे।
मुख्यमन्त्री राउतले संविधानको प्रसङ्ग उप्काएको भए पनि भारतीय प्रधानमन्त्रीले नेपालको संविधानबारे तराईकेन्द्रित दलले व्यक्त गरेका असन्तुष्टिबारे कुनै धारणा राखेनन्।
बधाई
बरु उनले युद्ध अन्त्य गरेर शान्तिमा प्रवेश गरेको र तीन तहका निर्वाचन सम्पन्न गराएको भन्दै नेपाललाई बधाई ज्ञापन गरे।
उनले नेपालको समृद्धि र विकासमा भारतले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसका लागि पाँच ‘टी’ सूत्र — ट्रेडिशन (परम्परा), टुरिजम (पर्यटन), ट्रेड (व्यापार), ट्रान्सपोर्ट (यातायात) र टेक्नोलजी (प्रविधि) — उपयोगी हुने उनको तर्क थियो।
यसो भने मोदीले
“साथीहरू, नेपालविना भारतको आस्था अधुरो हुन्छ। नेपालविना भारतको विश्वास अधुरो हुन्छ अनि इतिहास अधुरो हुन्छ। हाम्रा धाम अधुरा हुन्छन्, अनि नेपालविना हाम्रा राम पनि अधुरा हुन्छन्। इतिहास साक्षी छ जबजब एकअर्काप्रति सङ्कट आउँछ भारत र नेपाल दुवै मिलेर सामना गरेका छन्।…
हामीले हरेक कठिन समयमा एक अर्कालाई साथ दिएका छौँ। भारत दशकौँदेखि नेपालको स्थायी विकासको साझेदार रहँदै आएको छ। नेपाल हाम्रो ‘छिमेक पहिलो’ नीतिमा सबैभन्दा अगाडि आउँछ र पहिलोमा पर्छ।
आज भारत विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश बन्नेतर्फ तीव्र गतिमा अगाडि बढिरहेको छ त्यसरी नै नेपाल पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। विकासको उचाइ चढिरहेको छ। आज यो साझेदारीको नयाँ उर्जा दिनका लागि मलाई नेपाल आउने मौका मिलेको छ।”