
काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा सहयोगी बिना एकापसमा वार्तालाप भएको छ।
दुई प्रधानमन्त्रीबीच भएको झन्डै पौने घन्टा लामो एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता भएको छ।
दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गर्ने तयारी छ।
सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन्।
होटलबाटै दुबै प्रधानमन्त्रीले ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन्।
यो आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन्।
मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइएको थियो। गार्ड अफ अनरपछि मोदी राजनीतिक भेटघाटमा व्यस्त छन्।
प्रधानमन्त्रीसँगको भेटअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्।
दुई दिने राजकीय भ्रमणका लागि मोदी जनकपुर हुँदै आज अपरान्ह काठमाडौं आएका हुन्।