Prakash Adhikari March 12, 2024

हंगकंग(चीन), २९ फागुन । हङकङमा जारी त्रिकोणात्मक टी २०आई सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनको अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्न सफल भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १७ औं ओभरमा अलआउट भयो । उसले निर्धारित २० ओभरको खेलमा १७ ओभरमा जम्मा १ सय १७ रनको योगफल जोड्यो ।

पीएनजीका हिरी हिरीले २८, सेसे बाउले २१ रन , ओपनर टोनी उराले १३, नोसैना पोकनाले १२। असद भाला र चाल्र्स अमिनीले ९।९, किप्लिड. डोरिगाले ८,लेगा साइका ५ र जोन कारिनोले २ रनको योगदान गरे ।

पीएनजीलाई रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए । प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १ । १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।

नेपालका लागि कुशल भूर्तेलले ५९, सन्दीप जोराले ५६,विनोद भण्डारीले २७, विवेक यादवले १९, गुल्शन झाले १५, लोकेश बमले १४,आशिफ शेखले ४ र रोहित पौडेलले १ रनको योगदान दिएका थिए ।

नेपाललाई रोक्ने क्रममा पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १ । १ विकेट लिए ।

यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।

आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । उक्त खेलको विजेताले बुधबार हुने फाइनलमा नेपालसँग खेल्नेछ । नेपाल र हङकङबीच पहिलो खेल वर्षाले रद्द भएको थियो ।

(स्रोतःहाम्रो खेलकूद)

 

Share Now