Prakash Adhikari March 12, 2024

काठमाडौं, २९ फागुन । संघीय संसदको राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनका लागि प्रस्तावमाथि छलफल चलिरहेको बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नयाँ गठबन्धनमा आवद्ध ५ दलका प्रमुखहरुले ७ बूँदे वक्तव्य जारी गरेका छन् ।

गत फागुन २१ गते बनेको नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका अलवा नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनले ७ बूँदे संयुक्त वक्तव्य जारी गरेका हुन्।

पाँच दलले निकालेको वक्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन २१ गते पुनर्गठित सरकारलाई सुदृढ र सफल बनाउने उल्लेख गरेका छन्।

पाँच दलको वक्तव्यमा मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाललाई सघाउने र बुधबार प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतको पक्षमा उभिने उल्लेख गरिएको छ।

वक्तव्यमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाएर समेट्दै लैजाने नेताहरूले उल्लेख गरेका छन्।

उनीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने पनि जनाएका छन्।

तर यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेको प्रधानमन्त्रीबारे केही पनि उल्लेख गरिएको छैन।

वक्त्वयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गर्नुभएको छ।

Share Now