
काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिवसीय राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निर्धारित भ्रमण पूरा गरि शनिवार अपरान्ह पौने ५ बजे स्वदेश फर्केका छन् ।
शुक्रबार बिहान साढे १० बजे जनकपुर आएर नेपाल भ्रमण सुरु गरेका मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए ।
शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए ।
काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिद्युत आयोजनाको शिल्यान्यास समेत गरेका थिए ।
भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीको उपस्थितिमा उच्चस्तरीय राजनीतिक र कुटनीतिक वार्ता भएको थियो । वार्तामा दुई देशको आर्थिक,सामाजिक,कुटनीतिक र जनस्तरका सम्बन्धका साथै आपसी चासोका प्राय सबै विषयमा छलफल भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालका मुख्य राजनीतिक दलका नेता र प्रतिनिधिहरुसंग पनि शनिवार कुराकानी गरेका थिए ।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा गएर पूजापाठ समेत गरेका थिए ।
पहिलो दिन जानकी मन्दिरमा पूजापाठ गरेका उनले दोश्रो दिन मुक्तिनाथ र पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गरेका थिए ।
शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन गरिएका उनलाई उनलाई शनिवार काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो ।