क्वाललम्पुर.मलेशिया), २ चैत्र । फिफा विश्वकप छनोटको पूर्व तयारी स्वरुप आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेशियासंग खेल्दै छ ।
खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलम स्थित यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा सुरु हुनेछ ।
खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुने भएकाले समर्थकलाई प्रवेश खुला गरिएको छैन । यस्तै खेलको प्रतक्ष्य प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।
खेलमा प्रतिस्पर्धा गर्न नेपाली टोली बिहीबार नै मलेसिया प्रस्थान गरिसकेको छ ।नेपाली टोली बंगलादेश हुँदै मलेसिया पुगेको हो । टोलीमा खेलाडी र प्रशिक्षक बाहेक १० जना पदाधिकारी पनि रहेका छन् ।
आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मलेशिया भ्रमण टोलीको मंगलबार घोषणा भएको थियो ।
पहिलो पटक राष्ट्रिय टोलीमा समेटिने खेलाडीहरुमा अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ छन् । भरत खवासले टोलीमा पुनरामगन गरेका छन् ।
प्रारम्भिक टोली मै नभएका भरत, सौभाग्य र अभिषेकलाई २३ सदस्यीय समेटिएको हो ।
नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । खेल २२ मार्चमा बहराइन नेशनल स्टेडियममा हुनेछ ।
नेपाली फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की


















