काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुले उठाएका गम्भीर विषयहरुको जवाफ सरकारले नदिएसम्म बैठक चल्न नदिने बताएपछि प्रतिनिधि सभाको बैठक आइतबारसम्मको लागि स्थगित भएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको ठगीमा अनुसन्धानको दायरमा परेको हुनाले उहाँलाई गृहमन्त्रालयको जिम्मेवारी दिंदा स्वार्थको द्धन्द्ध हुने र अनुसन्धान प्रभावित बन्ने भन्दै उहाँको राजिनामा माग गरेका थिए ।
प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले यो आवाज उठाएपछि यसमा जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिड. गर्नुभएको थियो ।
तर सरकारको जवाफ नआएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै कांग्रेसले अवसरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
दोस्रो बैठक पुनः सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन( विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिनुभएको थियो ।
सभामुखले सो अनुमति दिने वित्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ ।
बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको आजकौ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक १५ मिनेट लागि स्थगित गरिएको हो ।
बैठकमा सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक(पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्षले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिनका लागि संसदबाट रुलिङ भएको छ । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न सकिदैन । तर प्रतिपक्ष नेपाली काँग्रेसले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा अवरोध गर्दैन ।”


















