काठमाडौं, २ चैत्र । यसै महिना सम्पन्न पश्चिम एशिया फुटबल महासंघ(वाफ)को महिला महिला च्याम्पियनसीप खेलमा शानदार प्रदर्शन गरेर उपविजेता बनेको नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ ।
विश्व फुटबल महासंघ (फिफा)ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।
यसै महिना साउदी अरेबियाको जेद्दाहमा भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनलमा पनि निकै प्रतिस्पर्धात्मक खेल खेल्यो । निर्धारित समयमा २ २ गोलको बराबरीमा रहेको नेपाल फागुन १६ गते जोर्डनसँग भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो ।
त्यसअघि नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको थियो भने समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
फिफाको नयाँ बरियतामा दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत एक स्थान तल झर्दै ६६औं स्थानमा छ । यस्तै बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८ माल्दिभ्स १६१, भुटान १७३औं स्थानमा छन् ।
महिला फुटबलमा विश्वकप विजेता स्पेन शीर्षस्थानमा छ भने इङ्ल्यान्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौ स्थानमा रहेका छन् ।


















