
काठमाडौं, २ जेठ । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबसको ३३० -२०० सेरिजको बाइड बडी विमानको उत्पादन निरीक्षण गर्न एअर बसको हेडक्वाटर रहेको फ्रान्सको तुजलु शहरमा पुगेको नेपाल एअरलाइन्सको उच्चस्तरीय प्रतिनिधि मण्डलको आतिथेय संस्थाका प्रतिनिधिहरुसंगको संयुक्त बेठक प्रत्युत्पादक भएको खबर छ ।
निगमको उच्च स्रोत दिएको जानकारी अनुसार नेपाल वायुसेवा निगमले पोर्चुगलको हाई फ्लाई एरोस्पेसको अर्डरबाट पाउने भनिएको निर्माणाधीन विमानको निरीक्षण गर्न गएको टोली र निगमलाई विमान बेच्ने हाइफ्लाई एरोस्पेस, जर्मन एभिएस क्यापिटल, हाइफ्लाई एक्स आयरल्याण्ड र अमेरिकाको एएआर इन्टरनेशनल इन्क र निर्माता एअर बसका प्रतिनिधिहरुको संयुक्त बैठकमा नेपाल वायुसेवा निगमका सञ्चालकहरुले विमानको मूल्य र खरिद प्रक्रियाका बारेमा नेपालमा धेरै प्रश्न उठिरहेकोले मिलेसम्म मूल्य र संझौताका विषयहरु पारदर्शी ढंगले सार्वजनिक गर्न आग्रह गरेका थिए ।
निगमको सर्वोच्च निकाय मानिएको सञ्चालक समितिकै सदस्यहरुबाट मूल्य र संझौताका कतिपय बूँदाहरु स्पष्ट नभएको सत्य सार्वजनिक भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार कालो निलो हुनुभएको थियो । भने नेपाललाई विमान आपूर्ति गर्ने नाममा सिर्जना गरिएको कन्सोर्टियमका पदाधिकारीहरु एक अर्कालाई पल्याकपुलुक हेर्दैथिए ।

निगमका सञ्चालकहरुले निगमले झण्डै एक बर्ष अगाडि पठाएको ८ अर्ब नेपाली रुपैया एअरबसले पाएको नपाएको र पाएको भए कति पाएको हो त्यो पनि स्पष्ट पार्न आवश्यक भएको बताएका थिए ।
निगमका जिम्मेवार पदाधिकारीहरुले आफूलाई चाहिने दुई थान ३३० -२०० सेरिजका फराकिला आकारका विमान सिधै एअरबसबाट खरिद गर्ने सहजमार्ग अवलम्बन नगरेर अधिक मूल्य र खरिदको कमिशन खानको लागि जर्मनीको नर्टन फूल बाईट एएलएलपीलाई एस्क्रो एजेण्ट नियुक्त गरी आफूले पठाउने रकम उसको खातामा पठाउने र विमान खरिदमा तिर्नुपर्ने वास्तविक रकम सो खाताबाट एअरबसको खातामा पठाएर उब्रेको रकम भागवण्डा गर्ने तारतम्य मिलाएका छन् ।
निगमले एएआर इन्टरनेशनल इन्क, जर्मन एभियसन क्यापिटल, हाई फ्लाई एरोस्पेस पोर्चुगल र हाइफ्लाई एक्स आयरल्याण्डसंग गरेको खरिदबिक्री संझौतामा खरिद गरिने जहाजको एअरफ्रेमको मूल्य प्रतिविमान ९२ मिलियन उल्लेख भएको छ भने इञ्जिन र अन्य सामानको मूल्य सहित विमानको मूल्य १०४ मिलियन डलरदेखि १०९ मिलियन डलर पर्ने उल्लेख छ ।
तर निगमको अर्थ विभागले केही समय पहिले पैसा पठाउनका लागि स्थानीय वाणिज्य बैंकहरुसंग मागेको कोटेशनमा भने दुई विमानका लागि २४ अर्ब पठाउने उल्लेख गरेर प्रति विमानको मूल्य ११२ मिलियन डलर पुग्ने रहस्योद्घाटन गरेको थियो ।
हालसम्म भएका काममा नै प्रश्न उठेपछि अगाडिको बाटोका सन्दर्भमा थप कुरा हुने अवस्था सिर्जना भएन् । सञ्चालकहरुसंग मतभेद भएपछि संगै फर्कने रहर मारेर महाप्रबन्धक सुगतरत्न कंशाकार एक्लै फर्कनुभएको निगमको उच्चसूत्रले बताएको छ ।
निगमका प्राविधिकहरुका अनुसार उच्च व्यवस्थापकहरु सम्मिलित यस प्रतिनिधि मण्डलले जहाजको प्राविधिक परीक्षण समेत गरी आफ्ना लागि जडान गरिनुपर्ने विशेष पार्टपूर्जा र यात्रु सुविधाका सामानको बारेमा समेत अर्डर लिने र दिने काम गर्नुपर्ने थियो ।
तर त्यसतर्फ कसैको ध्यान गएन् ।
पोर्चुगलको हाइफ्लाई एअरले यही निर्माणाधीन विमान नै दिन्छु भनेर पनि हालसम्म भनेको छैन् ।
विमानको मूल्य,विमानको तौल, विमानको इञ्जिन र अन्य पार्टपूर्जाको विषयमा अहिले निकै आशंका उब्जिएको छ ।
निगम व्यवस्थापनले निगमका जहाज खरिदबिक्री संझौताका गोप्य कागजातहरु सार्वजनिक भएको विषयमा आन्तरिक छानवीन पनि थालेको बताइन्छ ।
तर गत बर्ष जहाज खरिद संझौता हुने वित्तिकै यसमा धेरैकुरा निगमको हितमा नभएको र सार्वजनिक खरिद ऐन, निगमको आर्थिक नियमावली, र टेण्डरको लागि स्वीकृत गरिएको आरएफपीको प्रावधानहरु उल्लंघन गरी २४ अर्बको जहाज ल्याउन लागिएको घट्ना सार्वजनिक हुने वित्तिकै टेण्डरमा सहभागी अन्य प्रतिस्पर्धीहरुले संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी हालेका थिए ।
लेखा समितिले खरिदविक्रीसंग सम्बन्धित झण्डै एक कार्टून कागजात झिकाइसकेको छ । बीचमा चुनाव आएकोले तात्कालिन लेखा समितिका सदस्यहरुले चुनाव खर्च बटुलेर यसमा संलग्न पदाधिकारीलाई छानविन नगरिने ढाड्स दिएका थिए ।