
काठमाडौं, २ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पु¥याउन निर्देशन दिएका छन् । बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएक हुन् ।
अर्थमन्त्री डा खतिवडाले बीमाको आवश्यकताबारे आम जनजीवनमा बोध नभएसम्म यस क्षेत्रको दायरा फराकिलो हुन नसक्ने उल्लेख गर्दै बीमा समितिले बीमा बजारको स्वच्छ विकासमा सहयोग गर्नुपर्ने बताए । बीमा क्षेत्र प्रतिस्पर्धी देखिए पनि अहिलेसम्म १० प्रतिशत जनसंख्यामा मात्र बीमा पुगेको छ, उनले भने , “९० प्रतिशत जनतामा अझै बीमा नपुग्नु र कूल गार्हस्थ्य उत्पादनमा २ प्रतिशत मात्र योगदान गर्नुलाई सन्तोष मान्न सकिँदैन ।”
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको विकास र समृद्धिका लागि जीवन र पेशा व्यावसायमा आउन सक्ने जोखिम न्यूनीकरण गर्दै आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्ने बताए । ठूलादेखि साना र मध्यमस्तरीय व्यावसायलाई समेटेर बीमा क्षेत्रको विस्तार गर्नुपर्ने बताउँदै उनले न्यून आय भएका व्यक्ति तथा ग्रामीण क्षेत्रका जनतालाई बीमाले समेट्नुपर्ने धारणा व्यक्त गरे ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा समितिले गरेका नीतिगत तथा प्रक्रियागत परिवर्तनका कारण एक वर्षमा तीन प्रतिशत जनतालाई बीमाको दायरामा ल्याउन सफल भएको दाबी गरे । हाल देशमा १८ जीवन, १९ निर्जीवन र एक पुनर्बीमा गरी ३९ वटा बीमा कम्पनी सञ्चालनमा छन् ।