काठमाडौँ, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभयो ।
उहाँले आफ्नो प्रतिवेदनमा नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक छ भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो “गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो । ” अध्यक्ष ओलीको प्रस्तुति जारी रहेकोे छ ।
महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।


















