Prakash Adhikari April 21, 2024

वीरगञ्ज (पर्सा), ९ वैशाखः सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।

छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताउनुभयो । “भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हँुदै आएर नेपालको भूमिमा खेतीबाली तथा फुसको घरमा क्षति पुर्याएको छ”, उहाँले भन्नुभयो, “सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भए ।”

जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताउनुभयो । प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ ।

आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ । सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा रु चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगजनीले सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर रु दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ ।

आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहँुबाली जलेको छ । सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ ।

किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँु र पराल गरी रु एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा रु ३० हजारको क्षति भएको छ । आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही रु २० हजारको क्षति भएको छ ।

त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा रु ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा रु ८० हजारको क्षति भएको छ । त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा रु ५० हजारको क्षति भएको छ । त्यस्तै सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहँुबालीमा क्षति हँुदा रु २० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट

गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।

इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ । स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन् ।

त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो । त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताउनुभयो ।

इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ । उहाँहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ ।

विद्युत्को सबस्टेशन जल्यो

शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट रु दुई करोड बराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ । डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
–––

Share Now