
काठमाडौं,३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकमा दुवै पार्टीका अध्यक्षले आआफ्ना पार्टीहरु विधिवत विघटन भएको घोषणा गरेका छन्।
आज अपरान्ह बालुवाटारमा बसेको दुइ पार्टीको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे ।
उनीहरुले ९ सदस्यीय हेडक्वाटर र ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी निर्माण भएको घोषणा गरे ।
एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो ।
घोषणा सकेर नयाँ दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका नेता प्रचण्ड आफैं निर्वाचन आयोग पुगेका छन्।
नयाँ दल दर्ता गर्न ओलीले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई निवेदन बुझाएका छन्।
दुवै पार्टी विघटन र नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरेपछि केन्द्रीय समिति सदस्यको हस्ताक्षर लिएर नेताहरु आयोगमा पुगेका थिए।
तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।
निवेदनमा नेकपामा अण्डरलाईन गरिएको छ ।
स्रोतका अनुसार यदि नाममा निवेदन दिने र दल दर्ता प्रक्रिया अघि बढाउँदै समस्या परे ‘नेकपा कम्युनिष्ट पार्टी’का पछाडि केही थप्ने विकल्प राखिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको एकीकृत पार्टीको बालुवाटारमा बसेको बैठकमा नयाँ पार्टीका केन्द्रीय सदस्यले सामूहिक सपथ लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सपथ ग्रहण गराएका थिए।
सो बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको थियो।
एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादीले आफ्नो पार्टी विघटन गरी एकीकृत पार्टीको घोषणा गर्नेछन्।
आजै बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमामा बिहिवार बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो ।
एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराका थिए । अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ ।
एमालेका महासचिव एवम् संयोजन समितिका सदस्य ईश्वर पोखरेलले एकता प्रक्रियालाई अन्तिम रुप दिइएको जानकारी दिँदै दुवै पार्टीको बैठक बसेर यसलाई अनुमोदन गर्ने बताए ।
दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ । सो नाम त निर्वाचन आयोगमा दर्ता भइसकेको छ नि भन्ने प्रश्नमा महासचिव पोखरेलले भने, “नेकपाको नाममा नै पार्टी दर्ता हुन्छ । समस्या छैन ।”
एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुनेछ । यस्तै नेपालको सापेक्षातामा जनताको जनवादलाई स्वीकार गरेर जाने विषयमा समेत दुई पार्टीबीच सहमति भएको छ ।
एकीकृत पार्टीमा पालैपालो नेतृत्व गर्नेलगायतका विषयमा सहमति भएको छ । नयाँ पार्टीको स्थायी समितिमा ४३ जना छन् । त्यसमा एमालेको तर्फबाट २५ र माओवादी केन्द्रका तर्फबाट १८ जना रहने निर्णय गरिएको छ । कूल ४४१ जनाको केन्द्रीय समितिमा २४१ एमालेका तर्फबाट र २०० जना माओवादी केन्द्रका तर्फबाट रहनेछन् । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य रहनेछ ।
एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार केन्द्रीय समितिमा पार्टी एकताका बारेमा जानकारी गराउने कार्यक्रम छ ।
उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ ।
एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ । सो कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ । अपराह्न ४ बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिए ।
एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ एक होटलमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ । रासस