Prakash Adhikari May 17, 2018

काठमाडौं,३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि घोषित ‘नेपाल कम्युनिस्ट पार्टी’को तत्कालीन कार्यक्रम जनताको जनवाद हुने निर्णय भएको छ। साथै शीर्षस्थ नेताहरूको मर्यादाक्रम तोकिएको छ।

दुवै दलको संयुक्त एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको र त्यसलाई एमालेको अन्तिम केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको नेता योगेश भट्टराईले बताए।

उनका अनुसार ‘समाजवाद उन्मुख जनताको जनवाद’ तत्कालीन कार्यक्रम हुने निर्णय भएको छ।


त्यस्तै मार्क्सवाद र लेनिनवादलाई पार्टीले मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्नेछ।

नेता भट्टराईले भने, “माओवाद, एक्काइसौँ शताब्दीको जनवाद र जनयुद्ध लगायतका थुप्रै विषयलाई पार्टीभित्र आन्तरिक छलफलको रुपमा अघि बढाउने निर्णय भएको छ।”

नेता भट्टराईले एकीकृत दलको केन्द्रीय समिति ४४१ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय हुने जानकारी दिए।

पौडेल महासचिव

सबैभन्दा माथिल्लो निकाय सचिवालय हुनेछ।

त्यसमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, विष्णु पौडेल रहनेछन्।


ओली र दाहालपछि नेपाल र खनाल वरिष्ठ नेताका रूपमा रहनेछन्। यसैगरी श्रेष्ठ प्रवक्ता र पौडेल महासचिव हुने निर्णय भएको भट्टराईले बताए।

सचिवालयले पार्टीका केन्द्रीय सङ्गठनको व्यवस्थापन, प्रदेश लगायतका तलका निकाय, प्रवास सङ्गठन र मोर्चाको एकता तथा विभागहरूको गठन लगायतका गृहकार्य गर्ने बताइएको छ।

पार्टी दर्ता गर्नुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एकीकृत दलमा परेका केन्द्रीय समितिमा परेका सदस्यहरुको संयुक्त बैठक बालुवाटारमा सम्पन्न भएको छ।

Share Now

Leave a comment.