काठमाडौं, ४ जेठ ।नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ्को कार्यविधि पारित गरेको छ।
बिहिबार बसेको बोर्ड बैठकले कार्यविधि पारित गरेको अध्यक्ष रेवतबहादुर कार्कीले बताए।
बोर्डले कार्यविधि पारित गरेपछि अब लगानीकर्ताले दोस्रो बजारबाट शेयर खरिद गर्न ब्रोकर कम्पनीबाट ऋण पाउने छन्। कार्यविधिमा सदस्य दलालले कुनै एक लगानीकर्ता (निजको एकाघरको परिवार समेत(लाई आफ्नो खुद सम्पतिको १० प्रतिशत भन्दा बढी हुने गरि मार्जिन कारोबार नपाउने व्यवस्था छ।
कार्यविधिमा मार्जिन कारोबार सुविधा उपलब्ध गराउने सदस्यले आफ्नो खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ पुर्याउनु पर्नेछ।मार्जिन कारोबारका लागि सदस्य व्यवसायीले आफ्नो खुद सम्पत्ति मध्ये कम्पनी संचालन र नियमित राफसाफको लागि दुई करोड रुपैयाँ कम्पनीमा जगेडामा राखी त्यो भन्दा बढी मात्र लगानी गर्न पाउने कार्यविधिमा छ। एक कम्पनीको शेयरमा १० प्रतिशत भन्दा बढी मार्जिन कारोबार सेवा दिन नपाउने कार्यविधिमा छ।
आफ्ना लगानीकर्तालार्इ नेप्सेले तोकेको धितोपत्रमा मात्र मार्जिन कारोबार सुविधा दिनुपर्ने कार्यविधिमा उल्लेख छ। नेप्सेले तोकेको सबै शेयरमा मार्जिन कारोबार सुविधा दिन सदस्य बाध्य नहुने कार्यविधिमा छ।
नेप्सेले प्रत्येक आर्थिक वर्षकोलागि मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्ने र सूचीलाई नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र अद्यावधिक गर्ने कार्यविधिमा छ।


















