भगीरथ योगी
बीबीसी न्युज नेपाली
संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह विन्ड्सरमा शनिवार, मे १९ मा हुँदैछ।
श्रीमती बबिनासँग भूतपूर्व गोर्खा सैनिक अनिल गुरुङ राजकुमार ह्यारी तथा मेगन मार्कलको विवाह समारोहमा भाग लिन जाने तयारी गरिरहेका छन्
ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिक अनिल गुरुङको घरमा झण्डै दुई साताअघि एउटा निम्तो आइपुग्यो। त्यो साधारण निम्तो थिएन।
त्यो संसारभरिका सञ्चारमाध्यमले चर्चा गरिराखेको र सर्वसाधारणको ध्यानाकृष्ट भएको ब्रिटिश राजकुमार ह्यारी तथा उनकी प्रेमिका मेगन मार्कलबीच शनिवार हुने भव्य विवाह समारोहको निम्तो थियो।
निम्तो
आफ्नो परिवारसहित हाल ब्रिटेनको मेडस्टोनमा बस्ने ३० वर्षीय अनिललाई स्थानीय मेडस्टोन काउन्सिलमार्फत् उक्त निम्तो आएको थियो।
“निम्तो पाउँदा मलाई निकै खुसी लाग्यो, गर्व पनि लाग्यो
अनिल गुरुङ, एक भूतपूर्व गोर्खा सैनिक
अफगानिस्तान खटिएका बेला एउटा विस्फोटमा परी उनले दाहिने खुट्टा गुमाएका थिए।
“निम्तो पाउँदा मलाई निकै खुशी लाग्यो, गर्व पनि लाग्यो,” बीबीसीसँग कुरा गर्दै अनिलले भने।
शाही विवाहको निम्तो मान्न अनिल र उनकी श्रीमती बबिना जाँदैछन्।
कस्तो पोसाक लगाउने भन्नेबारे गुरुङ दम्पतिबीच शुक्रवार दिउँसोसम्म छलफल हुँदै थियो।
“हामीलाई निम्तो आएको छ भन्ने थाहा पाएर साथीहरूले बधाई दिए। सबै जना खुसी छन्। सबैले राम्रो मानेका छन्,” बबिनाले भनिन्।
पाँच वर्ष अघि सेनाबाट सेवानिवृत्त भएका अनिल अहिले ऐल्सफोर्डस्थित रोयल ब्रिटिश लिजन इन्डस्ट्री अन्तर्गतको एक कंपनीमा काम गर्छन्।
रोजगारी
कल्याणकारी संस्थाको रूपमा दर्ता रहेको सो संस्थाले सेनामा काम गर्दा घाइते भएका भूतपूर्व सैनिकहरू लगायत अरू सर्वसाधारणलाई पनि रोजगारी दिएको छ।
सन् २००९ मा अफगानिस्तानको हेल्मन्ड प्रान्तमा खटिएका बेला अनिल गम्भीर घाइते भएका थिए।
राति गस्ती गरिरहेका बेला विस्फोटक पदार्थ पड्कियो, उनी त्यसमा परे।
“त्यसपछि मलाई क्याम्प ब्यास्टनस्थित अस्पताल लगियो र २४ घन्टाभित्र यूके ल्याइयो।”
विष्फोटमा परी आफ्नो दाहिने खुट्टा गुमाएका उनी अहिले ‘प्रोस्थेटिक लेग’ अर्थात् कृत्रिम खुट्टा लगाएर हिँडडुल गर्छन्।
उनी खेलकुद र कल्याणकारी काममा पनि निकै सक्रिय छन्।
खेलमा भाग
उनले सन् २०१४ मा यूके र २०१६ मा संयुक्त राज्य अमेरिकामा आयोजित इन्भिक्टस खेलहरूमा भाग लिएका छन्।
सिटिंग भलिबल खेलमा उनले पदकहरु पनि जितेका छन्।
सानो पाराओलिम्पिक्स पनि भनिने सो खेलका क्रममा राजकुमार ह्यारीसँग भेट भएको उनले बताए।
राजकुमार ह्यारीले सही जीवनसाथी चुनेका छन् भन्ने मलाई विश्वास छ
श्रीमती बबिना गुरुङ
राजकुमार ह्यारीले अफगानिस्तानमा पनि केही समय सैनिक जिम्मेवारी निर्वाह गरेका थिए। उनले गोर्खा सैनिकहरूसँग हुँदा आफूलाई कुनै डर नलाग्ने बताएका थिए।
साहसिक काममा रुचि राख्ने अनिल गत वर्ष नेपाल भ्रमण गरी एभरेस्ट बेस क्याम्पसम्म पुगेका थिए।
उनले आफू कार्यरत संस्था रोयल ब्रिटिश लिजन इन्डस्ट्रीका लागि ११,००० पौण्डभन्दा बढी (झन्डै १६ लाख रुपियाँ) सहयोग जुटाएका थिए।
“मेरो त्यो यात्राको विवरण स्थानीय अखबारहरूमा छापिएको थियो। सम्भवत: त्यसले गर्दा पनि स्थानीय काउन्सिलले मेरो नाम राजकुमारको विवाहमा निम्त्याउन समावेश गरेको हुनसक्छ,” उनले भने।
‘सही जीवनसाथी’
श्रीमती बबिना चाहिँ अभिनेत्री मेगन मार्कल लाई निकै रुचाउँछिन्।
“राजकुमार ह्यारीले सही जीवनसाथी चुनेका छन् भन्ने मलाई विश्वास छ।”
“उहाँहरूको दाम्पत्य जीवन सुखद होस् भन्ने हामी चाहन्छौँ,” उनले भनिन्।
पाँच वर्षीया छोरी जारा र एक वर्षीय छोरा बिहान गुरुङलाई इष्टमित्रसँग छोडेर शनिवार बिहानै उनीहरू विवाह समारोह हुने विन्डसर जाने तयारीमा छन्।
विन्डसर पुग्न मोटरमा झन्डै डेढ घन्टा लाग्छ।
तर गुरुङ दम्पतीको मन भने त्यहाँ पुगिसकेको छ।
उनीहरू शनिवार सयौँ निम्तालुहरूसँगै ऐतिहासिक विवाह समारोहमा भाग लिने प्रतीक्षा गरिरहेका छन्।