Prakash Adhikari May 7, 2024

काठमाडौं, २५ बैशाख । साताको तेस्रो दिन मंगलबार नेपालको शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ ।

यस दिन धितोपत्र बजार परिसूचक २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ।

मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन विभिन्न कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ९ लघुवित्त कम्पनीहरु रहेका छन्। जसमध्ये हिमालयन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने समता घरेलु लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ६.२३ प्रतिशत घटेको छ।

अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन अरु उपसमूहको तुलनामा उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४३ प्रतिशत बढेको छ। विकास बैंक, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। कारोबारमा आएका वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन आरएसडिसी लघुवित्तको साढे ६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लघुवित्तको कारोबार रकम ५ करोड नाघेको छ।

Share Now