Prakash Adhikari May 10, 2024

काठमाडौँ, २८ वैशाखः सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसक्नुभएको छ ।

संघीय संसदको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी दलले सहकारी ठगीसम्बन्धित विषयमा संयुक्त संसदीय समिति गठन माग गरेपछि सरकारले अप्रत्यासित रुपले संसद अधिवेशन अन्त्य गराएको थियो ।

सो विषयलाई तार्किक निश्कर्षमा पुर्याउन सत्तागठबन्धन र प्रधानमन्त्रीले निरन्तर प्रयास गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहमत गराउन नसकेकोले यस अधिवेशनको पहिलो दिन देखि नै सो विषयले प्रवेश पाउने ठानिएको छ ।

प्रतिपक्षले गतिलो राजनीति मुद्दा नपाइरको अवस्थामा सत्ता गठबन्धनमा संलग्न ठूला दलहरुले सत्तामा रहेको सहयोगी जनता समाजवादी पार्टीलाई विभाजन गराएर वैकल्पिक सरकार बन्ने बाटो दुरुह बनाए कोले प्रमुख प्रतिपक्ष आगो भएको छ । सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा छलफल गर्ने यो अधिवेशन सार्थक होला भन्ने विश्वास पलाइसकेको छैन ।

Share Now