काठमाडौँ, २८ वैशाख : नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासङ्घको महासचिव हुनुहुन्थ्यो ।
यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासङ्घको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो ।
महासंघको सहअध्यक्षमा नानु माया पराजुलीलाई चयन गरिएको छ । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देविदत्त पौडेल रहेका छन् । उपमहासचिव अर्थमा मदनराज जोशीलाई ल्याइएको छ । त्यसैगरी उपमहासचिव गुरुप्रसाद पौडेल र पुष्कर सापकोटा रहनुभएको छ ।
महासंघको सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरी प्रसाद जोशी र सुरेश शाह सोमार रहनुभएको छ । ।
महासंघको महत्वपूर्ण घटक मानिएको नेपाल राष्ट्रिय शिक्षक संगठन घोषणा कार्यक्रममा नआएपछि संगठनको भागमा परेका पदाधिकारीहरूको पद खाली राखेर अन्यमा घोषणा गरिएको छ । संगठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद खाली राखिएको छ ।
सहमति जुट्न नसकेपछि सङ्गठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासङ्घको नेतृत्व चयन गरिएको र सङ्गठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
नेपाल शिक्षक महासङ्घको महाधिवेशन वैधानिक तरीकाले नगरिएको भन्दै बहिस्कार गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन र आबद्ध घटकहरुका प्रतिनिधिहरुलाई महासंघको मूलधारबाट बहकिन नदिइकन कार्यसमितिमा समायोजन गरेर लैजाने महत्वपूर्ण जिम्मेवारी नयाँ अध्यक्ष,पदाधिकारी र कार्यसमिति सामु रहेको छ।
महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले बताउनुभयो ।
–––