Prakash Adhikari May 14, 2024

काठमाडौं, १ जेठ । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको सम्बन्धमा संयुक्त संसदीय समिति गठन गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको मुद्दाको निकास खोज्न पार्टीका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तामा हुनुहुन्छ ।

नेपाली कांग्रेसका नेताहरू निकास खोज्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो। नेपाली कांग्रेसले त्यस्तो समिति नबनेसम्म संघीय संसदको नियमित काम कारबाही रोक्ने निर्णय गरेको थियो । तर कांग्रेसलाई छिर्के हान्न माहिर देखिनुभएका नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले संसद अवरोधलाई निस्तेज पार्न आफ्नो पार्टीबाट सभामुख निर्वाचित हुनुभएका देवराज घिमिरेलाई पनि उपयोग गर्नुभयो ।

संसदीय समिति गठन सामान्य प्रक्रिया हो ।


यसलाई नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जुँगाको लडाइँ बनाउनुभएको छ । सो समिति गठनलाई टार्न र कांग्रेसलाई अप्ठ्यारोमा पार्न सरकारले जेठ १ गते नै राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुने कार्यक्रम अगाडि सार्यो । राष्ट्रपति नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । यसैले संसदीय दलको निर्णय अनुसार संसदमा अवरोध गरे आफ्नै राष्ट्रपतिले संघीय संसदको संयुक्त अधिवेशनलाई संबोधन गर्न पाउनु हुँदैन । गलत नजिर बस्छ । नगरौ सरकारले पेलेर जान खोज्दै छ । कांग्रेस धर्मसंकटमा परेको छ।

आइतबार नेपाली कांग्रेसका नेताहरुले भेट्दा प्रधानमन्त्री दाहाल संसदीय समिति गठन गर्न सकारात्मक देखिनुभएको दावी भेटपछि लेखकले गर्नुभएको थियो । हिजो सोमबार प्रधानमन्त्री चितवनका कार्यक्रममा व्यस्त रहनुभयो । कांग्रेसले हिजोसम्म निकास निस्कने सोचेर हिजो निर्धारित गरिएको संसदीय दल र संसदीय दल कार्यसमितिको बैठक आज बिहानलाई सारेका थियो । तर आज बिहानसम्म पनि सरकार र सत्तारुढ गठबन्धनका दलहरुका तर्फबाट कुनै सकारात्मक जवाफ नआएपछि निकासको खोजीमा कांग्रेसका नेताहरु बालुवाटार पुग्नुभएको हो ।

आज बस्ने संघीय संसदको संयुक्त बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान ९ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बोलाइएको छ।

Share Now