काठमाडौं, ३ जेठ । नेपाल वायुसेवा निगमले राष्ट्रिय ध्वजावाहक जहाज सञ्चालन गर्ने संस्था भएकोले यसलाई आगामी बजेटमा विशेष सुविधाहरु दिन माग गरेको छ।
निगमको आगामी आर्थिक वर्ष २०८१ ८२ को वार्षिक बजेट तर्जुमा बैठकको समुद्घाटन गर्न पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसमक्ष निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त माग राख्नुभएको हो।
बैठकमा अधिकारीले निगमले हालसम्म गरेका उपलब्धि र भावी योजना सुनाउनुभएको थियो।
उहाँले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरुमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाइ इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गरिदिन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन माग गर्नुभएको थियो।
त्यस्तै, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनुहुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिन समेत अधिकारीले अनुरोध गर्नुभएको थियो ।
मन्त्री तामाङले निगमको चालू आ. व. २०८० । ८१ को समिक्षा र आगामी आ. व. २०८१ ।८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटन गर्नुभएको थियो। उक्त बैठकमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक (प्रा.), निगमका सबै विभागका प्रमुखहरु, निगमका दश वटै अन्तर्राष्ट्रिय स्टेसनका प्रमुखहरु, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरु र निगममा क्रियाशील चारवटै ट्रेड युनियनका अध्यक्षहरुको उपस्थिति थियो।
उक्त अवसरमा निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण दिनुभएको थियो।
उक्त समीक्षा बैठक तथा बजेट प्रक्षेपण कार्यक्रम ४ गतेसम्म चल्ने निगमले जनाएको छ।