Prakash Adhikari May 17, 2024

निरञ्जन राजवंशी / बीबीसी न्यूज नेपाली

काठमाडौं, ४ जेठ । नेपाली क्रिकेट स्टार तथा खेलाडी सन्दीप लामिछानेलाई आईसीसी टी २० विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघले तयारी थालेको छ ।

उनले जबरजस्ती यौन सम्पर्कको अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै दुई हप्तापछि सुरु हुन लागेको आइसीसी टी २० विश्वकपमा उनी सहभागी हुन पाउछन् कि पाउदैनन् भन्ने धेरैको चासो थियो ।

त्यसका लागि थुप्रै प्रक्रियाहरू पूरा गर्नुपर्ने तर समय निकै छोटो भएकोले कतिपयले यसमा शङ्का जनाएका थिए।

तर नेपाल क्रिकेट सङ्घ (क्यान)ले अदालतबाट सफाइ पाएको केही घण्टापछि नै लामिछानेको निलम्बन फुकुवा गर्‍यो।

अहिले उनलाई विश्वकपमा समावेश गर्नका लागि आवश्यक पहल थालिसकेको क्यान पदाधिकारीहरूले बताएका छन्।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बीबीसीसँग भने, “लामिछानेलाई नेपाली टोलीको हिस्सा बनाउन आवश्यक विषयहरूमा काम थालिसकिएको छ। प्रक्रिया छिटोछिटो हुनेछ।”

के गर्दै छ क्यान ?

क्यानले सबैभन्दा पहिले अदालतको निर्णयको जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सन्दीपलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरिसकेको छ।

आइसीसीबाट पत्राचारको जबाफ आइसकेको छैन, तर ‘क्लिन चिट’ पाइसकेको अवस्थामा उनलाई रोक्न पर्ने कारण नभएको मौखिक जानकारी आइसीसी पदाधिकारीहरूले दिइसकेको क्यान अध्यक्ष चन्दले बताए।

क्यानले यसअघि नै विश्वकपका लागि अन्तिम १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। तर आईसीसीको नियमअनुसार आगामी जेठ १२ गतेसम्म खेलाडीहरू परिवर्तन गर्न पाउने व्यवस्था भएकोले सन्दीपको नाम थप्ने विषयमा कुनै समस्या हुने देखिँदैन।

सन्दीपलाई विश्वकप टोलीमा समावेश गराउनेर नगराउने निर्णय भने राष्ट्रिय क्रिकेटको छनोट समिति, क्यान प्रतिनिधि, प्रशिक्षक मोन्टी देशाइ र कप्तान रोहित पौडेलबीचको छलफलबाट तय गरिने भएको छ।

छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भने, “यस विषयमा एक चरण प्रशिक्षक मोन्टीसँग कुरा भइसकेको छ। उहाँ सकारात्मक हुनुहुन्छ। अन्य प्रक्रियाहरू पनि चलिरहेको छ। बाँकी कुरा छलफलपछि तय गरिनेछ।”

फिटनेस परीक्षा

सन्दीपको शारीरिक तन्दुरुस्ती उनलाई टोलीमा राख्ने । नराख्ने अर्को प्रमुख विषय हुनेछ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि निलम्बनमा परेका उनले त्यसयता कुनै प्रतियोगितामा खेल्न पाएनन्।

अर्कोतर्फ राष्ट्रिय टोलीका अन्य खेलाडीहरू भने लगभग एक वर्षदेखि नियमित प्रतियोगिता खेल्दै शारीरिक तन्दुरुस्ती कायम राखेका छन्।

त्यसैले क्यानले उनको ‘फिटनेस टेस्ट’ लिँदैछ।

क्यानका ‘इन्ट्रेस्ट एन्ड कन्डिसनिङ’ प्रशिक्षक भारतीय अब्दुल सट्टा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै अमेरिकामा छन्। उनको निर्देशनमा सन्दीपको शारीरिक परीक्षा लिइने छनोट समितिका संयोजक दीपेन्द्रले बताए।

उनले भने, “अब्दुलजीको निर्देशनअनुसार हामी ुफिटनेस टेस्टु लिन्छौँ र त्यसको रिपोर्ट पठाउँछौँ। त्यसपछि मात्र सन्दीपको फिटनेसबारे स्पष्ट हुनेछ।”

यदि फिटनेस परीक्षामा असफल भएमा सन्दीपको राष्ट्रिय टोलीमा समावेश हुने ढोका बन्द हुने बताइएको छ।

सन्दीपले अदालतको निर्णय आउनु अगाडि नै कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए।

को बाहिरिएला ?

सन्दीप लामिछाने टोलीमा परेसँगै टोलीका एक जना खेलाडीले विश्वकपमा खेल्ने मौका गुमाउने पक्का जस्तै छ।

लेगस्पिनर सन्दीप भित्रिएपछि एक जना स्पिनर बाहिरिन सक्ने सम्भावना बढी छ। तर टोलीमा तेज बलरको सङ्ख्या बढी भएकोले तेज बलर पनि बाहिरिन सक्ने कतिपयको अनुमान छ।

छनोट समितिका संयोजक चौधरी भन्छन्, “अहिले हामी सन्दीपलाई पठाउने भन्ने विषयमा केन्द्रित छौँ। त्यसबारे पछि निर्णय लिइनेछ। तर हामीले बाहिरिने खेलाडी पनि विश्वकपभरि टोलीसँगै रहने र त्यसको खर्च क्यानलाई बेहोर्न अनुरोध गरिसकेका छौँ। ”

आरोप र सफाइ

लामिछानेलाई नाबालिगसंग जबरजस्ती यौनसम्बन्ध राखेको आरोप लागेका थियो। उक्त आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई यौनसम्बन्धको अभियोगमा दोषी ठहर गरेपनि युवतीको उमेर १८ बर्ष पुगेकोले नाबालिग नरहेको ठहर गरेको थियो।

गत पौष महिनामा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित आठ वर्षको जेल सजाय तोकेको थियो।

काठमाडौं जिल्ला अदालतले लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय पनि गरेको थियो।

त्यसबाहेक क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ गरी पीडित किशोरीले कुल पाँच लाख रुपैयाँ पाउने अदालतको निर्णय थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

उक्त मुद्दामा बुधवार दिउँसो उच्च अदालत पाटनले लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाण्डू जिल्ला अदालतले दिएको फैसलालाई उल्ट्याएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बीबीसीलाई बताए।

उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुदप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने देखिएको भन्दै अदालतले लामिछानेलाई सफाइ दिएको भन्ने विवरणहरू आएका छन्।

यद्यपि त्यसबारे अदालतबाट पूर्णपाठ आएपछि मात्र विस्तृतमा थाहा हुने अधिकारीहरूले बताएका छन्।

उच्च अदालतको उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ।

 

Share Now