Prakash Adhikari May 20, 2018

वाशिंटन(संयुक्त राज्य अमेरिका), ६ जेठ (बीबीसी) । दुई देशबीचको व्यापार असन्तुलन र एउटा सम्भावित व्यापार युद्ध हुनसक्ने चिन्ताहरूलाई कम गर्दै चीनले संयुक्त राज्य अमेरिकाबाट थप वस्तु तथा सेवाहरू किन्न सहमति जनाएको छ।

वासिङ्टनले भनेको छ- चीनको सो कदमले बेइजिङसँगको उसको ३३५ अर्ब डलर बराबरको वार्षिक व्यापार घाटा “महत्त्वपूर्ण ढङ्गले घटाउनेछ”।

तर त्यसरी घट्ने भनिएको घाटा ठ्याक्कै कति ठूलो हुनेछ भनेर वासिङ्टनले खुलाएको छैन।

वासिङ्टनमा कैयौँ दिनसम्म चलेको वार्तापछि जारी एक विज्ञप्तिमा भनिएको छ- “अमेरिकी कृषिजन्य उत्पादन तथा ऊर्जासम्बन्धी निर्यातहरू अर्थपूर्ण रूपमा बढाउन दुवै पक्ष सहमत भएका छन्”।

“यसले ‍अमेरिकाभित्र वृद्धि तथा रोजगारी बढाउन सहयोग पुर्‍याउनेछ।”

महत्त्वपूर्ण

दुवै देशहरू आफ्ना व्यापरसम्बन्धी चासोहरूबारे समाधान खोज्न “सक्रिय रूपमा” वार्ता गरिरहनका लागि पनि सहमत भएका छन्।

यसअघि ह्वाईट हाउसले २०० अर्ब डलरको व्यापार घाटा कम गर्ने लक्ष्य लिएको जनाएको थियो तर त्यो लक्ष्यबारे सो विज्ञप्तिमा केही उल्लेख गरिएको छैन।

एक अर्काको सामानहरूमा अर्बौँ डलर बराबरको आयात कर लगाउने भनेर दिइएको धम्की लागु गर्ने वा रद्द गर्नेबारे पनि दुवै पक्षले केही जनाएनन्।

चीन तथा अमेरिका दुवैले आयात गरिने सामानहरूमाथि कर लगाएका छन् तर त्यो कार्यान्वयन हुन भने बाँकी नै छ।

पूर्व चेतावनी अनुसार काम होला?


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमाथि १५० अर्ब डलरसम्मको आयात कर लगाइने भनेर धम्की दिएका छन्।

ट्रम्प त्यसो गर्नुको उद्देश्य ‘प्रविधि तथा सर्वाधिकारजस्ता अमेरिकी बौद्धिक सम्पत्तिको चोरी नगर्नका लागि चीनलाई आश्वस्त पार्नु’ रहेको बताउँछन्।

अमेरिकाले स्टील तथा एलम्युनियमको आयातमाथि कर लगाइसकेको छ।

ठूलो मात्रामा स्टील तथा एलम्युनियमको आयात गर्ने देशहरूलाई छुट दिइएको छ तर चीन भने छुट पाउनेभित्र पर्दैन।

बेइजिङले पनि त्यस्तै खाले कदम चाल्ने भनी धम्की दिएको छ।

कैयौँ अमेरिकी वस्तुहरू जस्तै हवाईजहाज, भटमास, कारहरू, बँगुरको मासु, वाइन र फलफूलहरूमा त्यस्तै कर लगाउने चीनले धम्की दिएको हो।

आइतवार चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशन गरेको एउटा लेखमा भनिएको छ, “दुवै पक्षका लागि पछिल्लो सहमति “जितको एउटा राम्रो उदाहरण” हो र त्यसले अमेरिकालाई उसको व्यापार घाटा घटाउन सहयोग गर्नेछ, अनि चीनलाई उसका वस्तुहरूको गुणस्तर बढाउन मौका दिनेछ”

Share Now

Leave a comment.